• २०८३ मङ्सिर ७ गते आइतवार

केपी ओली कप टी-२० क्रिकेट : एपीएफले लुम्बिनीलाई हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । पाेखरामा जारी प्रथम केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएकाे छ । पाेखरा क्रिकेट मैदानमा शनिबार भएकाे दाेस्राे खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गरेकाे हाे ।

एपीएफले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्याे । लुम्बिनीका लागि निर्मल गुरुङले १४ र रोशन गुप्ताले नटआउट १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ एपीएफका अरुण ऐरीले ५, भुवन कार्कीले २ तथा अविनाश बोहरा र अमर रौटालाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएकाे थियाे । एपीएफका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । जितसँगै एपीएफले २ खेलबाट २ अंक जाेडेकाे छ । लुम्बिनी भने पहिलाे खेलमै पराजित भएकाे छ । पहिलो खेलमा एपीएफ गण्डकी प्रदेशसँग ४ विकेटले पराजित भएको थियो । समूह ‘बी’ मा रहेका एपीएफ र गण्डकीले १-१ जितसहित २-२ अंक जाेड्दा लुम्बिनी अंकबिहीन छ ।

आजै भएको पहिलो खेलमा कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी (रातो) लाई ४ विकेटले पराजित गरेकाे थियाे ।

Sharing

प्रतिक्रिया दिनुहोस