• २०८३ बैशाख २६ गते शनिवार

जननिर्वाचित पाँच सांसदलाई हत्या आरोपदेखि भ्रष्टाचार अभियोगसम्म

पत्रपत्रिका पढ्न लाग्ने समय : ४ मिनेट

फागुन २५, काठमाडौं । प्रतिनिधिसभामा जननिर्वाचित पाँच जना सांसद विभिन्न आरोपमा निलम्बनमा परेका छन् । जनताबाट निर्वाचित उनीहरू जनताकै क्रुर हत्या अभियोगदेखि भ्रष्टाचार र बलात्कार मुद्दा खेपिरहेका छन् । वर्षौंदेखि मुद्दा खेप्दै आइरहेका सांसदहरूमा नेपाली कांग्रेसका दुई र जसपाका दुई सांसद छन् । त्यस्तै, एमालेका एक सांसद बलात्कार प्रकरणमा निलम्बनमा छन् ।

निलम्बित हुनेमा कांग्रेसका विजयकुमार गच्छदार र मोहमद अफताव आलम, जसपाका रेशमलाल चौधरी र हरिनारायण चौधरी तथा एमालेका मोहन बानियाँ छन् । कांग्रेसका प्रभावशाली नेताका रूपमा चिनिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका विजयकुमार गच्छदार ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि निलम्बनमा छन् ।

२२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १ सय ७५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका हुन् । गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माणमन्त्री हुँदा भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारले उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेको थियो । तर, गच्छदार ३० असार २०७८ मा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । धरौटीमा रिहा भए पनि भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ नभएकाले गच्छदार निलम्बनमै छन् ।

हत्या अभियोगमा मुद्दा खेपिरहेका अर्को सांसद हुन् मोहम्मद अफताब आलम । निर्वाचनताका इँटाभट्टामा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा अफताब आलम हाल पुर्पक्षका लागि नख्खु कारागारमा जेल जीवन बिताइरहेका छन् । २७ चैत २०६४ मा संविधानसभा निर्वाचनको माहोल तातिरहेका बेला रौतहटको राजपुरस्थित खरदवामा भएको बम विस्फोटपछि घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ ।

पहिलो संविधानसभाको अघिल्लो दिन २७ चैत २०६४ मा आलमका काका शेख इद्रिशको घरमा विस्फोट भएको थियोे । सो विस्फोटमा परेर २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसिअख्तर मियाँ घाइते भएका थिए । उनीहरूलाई जिउँदै भट्टामा हालेर मारेको अभियोगमा आलम हाल कारागारमा छन् । आलमलाई २६ असोज २०७६ मा रौतहटबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको थियो । पीडितको जाहेरीको आधारमा जिल्ला अदालत रौतहटले २९ कत्तिक २०७६ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो । सोविरुद्ध उनी उच्च अदालत वीरगन्ज पुगेका थिए । तर, उच्च अदालतले २४ माघ २०७६ मा जिल्ला अदालतकै आदेश सदर गरेको थियो । उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । हाल उनको मुद्दा विचाराधीन अवस्थामा छ ।

हत्या अभियोगमै जसपाका सांसद रेशमलाल चौधरी पनि जेलजीवन बिताइरहेका छन् । हाल उनले आफ्नै श्रीमतीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी खोलेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित चौधरी १४ फागुन २०७४ देखि हत्या अभियोगमा कारागार छन् । उनलाई ७ भदौ २०७२ मा थरुहट आन्दोलनका क्रममा आठ जनाको हत्याको मुख्य अभियुक्त भएको दाबी गर्दै प्रहरीले मुद्दा दायर गरेको थियो ।

थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको हत्या भएको थियो । हत्या अभियोगमा उनलाई प्रहरीले मुख्य अभियुक्त बनाएर खोजी गर्नेक्रममै उनले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । प्रतिनिधिसभामा विजयी भए पनि उनी संसद्मा उपस्थित हुन पाएनन् ।

जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो । सो फैसलाविरुद्ध उच्च अदालतमा निवेदन दिएकामध्ये चौधरीसहित सात जनाको सजाय सदर र चार जनाको हकमा सजाय घटाउने आदेश दिएको थियो । चौधरीले जिल्ला अदालतको आदेश सदर गर्ने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका छन् । हाल उनको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ ।

भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका अर्का सांसद हुन् हरिनारायण चौधरी । जनता समाजवादी पार्टीका सांसद चौधरी निर्माण कम्पनीका मालिक पनि हुन् । पप्पु कन्स्ट्रक्सन कम्पनीका मालिक रहेका चौधरीले देशका विभिन्न ठाउँमा पुल निर्माणको काम अलपत्र पारेको र कमसल काम गरेको पाइएपछि अख्तियारले १९ असोज २०७५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बर्दियाका गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो । पुल गुणस्तरहीन भएको भन्दै सर्वत्र विरोध भएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा छ । सांसद पद निलम्बनका लागि चौधरीले सर्वोच्चसम्म निवेदन दिए पनि उनको पक्षमा आदेश जारी हुन सकेन । हाल उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

त्यस्तै, एमालेका सांसद मोहन बानियाँ पनि महिला बलात्कार गरेको अभियोगमा निलम्बनमा परेका छन् । एमालेबाट मुगुका समानुपातिक सांसद बानियाँ बलात्कारको आरोपमा पक्राउ परेपछि निलम्बनमा परेका हुन् । जुम्लाकी एक शिक्षिकालाई २५ लाख रुपैयाँ सापटी फिर्ता दिन भन्दै नेपालगन्ज बोलाएर बलात्कार गरेको बानियाँविरुद्ध उजुरी छ । १६ फागुन २०७८ मा नेपालगन्ज विमानस्थलबाट बानियाँलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस