कात्तिक १७, काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले आज शुक्रबार यूएईसँग खेल्दैछ । छनोट प्रतियोगिताको सेमिफाइनलको खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ बजे सुरु हुनेछ ।
समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । यूएईलाई हराउँदै प्रतियोगिताको फाइनलसँगै विश्वकपमा छनोट हुने लक्ष्यमा नेपाल छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।
समूह चरणमा नेपालले सिंगापुर र मलेसियालाई हराएको थियो । तर अन्तिम खेलमा ओमानसँग पराजित हुन पुग्यो । नेपालको सुरुवाती र मध्यक्रमको ब्याटिङ लाइन चल्न नसक्दा नेपालले ओमानसँग हार ब्यहोरेको थियो । ओमानविरुद्धको खेलमा नयाँ ब्याटरको रुपमा विवेक यादव चलेका थिए । उनले २४ बलमा ३९ रनको विस्फोटक इनिङ्स खेलेका थिए ।
ओमानविरुद्ध गरेको गल्ती सुधार गर्दै यूएईलाई हराएर फाइनल पुगिनेमा प्रशिक्षक मोन्टी देसाई आत्मविश्वासी देखिन्छन् । विश्वकप छनोटको निर्णायक तथा महत्वपुर्ण खेल भएकाले नेपाल र यूएई दुवै टिममाथि दबाब रहनेछ ।
