भदौ १०, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो पाँचदिने चीन भ्रमण रद्द गरेको घोषणा गरेका छन् । चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै उनले चीन भ्रमण रद्द गर्ने घोषणा गरेका हुन् ।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ‘ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’ गत सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयाेजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सालाई चीनले ‘स्ट्यान्डर्ड म्याप’ नाम दिएको छ । जसमा भारतको अरुणाचल, अक्साई चीन, दक्षिणी चीन सागर र ताइवानलाई समेत समेटिएकाे छ ।