भदौ ८, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शिक्षालाई कुनै निजी क्षेत्रको मुनाफाका लागि दिन नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वर्तमान शिक्षा नीति र अबको गन्तव्य विषयक अन्र्तक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी राज्यले लिनु पर्ने बताए ।

उनले भने ‘ १२ कक्षासम्मको शिक्षा त्यसलाई पूर्ण रुपले राज्यले नै लिनुपर्छ तर शिक्षा ऐनमा त्यो खालको नीति आउँन सकेको छैन् भन्ने मैले सुनेको छु । आउँन खोजेको कुरालाई पनि विरोध गरेर सरकारले खुट्टा कमाएको भन्ने छ । त्यो गर्नु हुदैँन् । संविधानले नै मौलिक हक भनेर राखेको शिक्षालाई कुनै नीजि क्षेत्रको मुनाफाको लागि दिन सकिदैँन् । जसले लगानी गर्नुभएको त्यसले ट्रष्ट बनाएर, परोपकारी ढङ्गले लान सक्नु हुन्छ । तर मुनाफामा जानु हुदैँन् । ’
अध्यक्ष भट्टराईले वैज्ञानिक र आधुनिक शिक्षा सबैले पाउँनु पर्ने उल्लेख गर्दै यस्को दायित्व केही मान्छेले लिएर नहुने पनि प्रष्ट पारे । शिक्षाको दायित्व राज्यले लिनुपर्ने उल्लेख गर्दै उनले शिक्षालाई मुनाफाको लागि व्यापारिकरण गर्नु नहुने पनि प्रष्ट पारे ।