असार १३, मुुगु । मुगुमा रहेका एक नगरपालिका र ३ गाँउपालिकाहरुले २ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । मुगु जिल्लाका ४ वटा स्थानीय सरकारहरूले संघीय, प्रदेश सरकारहरूबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र स्थानीय राजश्व संकलन सहित जोडेर आफ्ना बजेटहरू सार्वजनिक गरेका छन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक वर्ष असार १० गतेबाट स्थानीय सरकारहरूले नीति तथा कार्यक्रम सहित बजेट अधिवेशन शुरु गरि मसान्त सम्ममा सम्पन्न गरि सक्ने पर्ने बाध्यकारी व्यवस्था गरेको छ । सोही ऐन अनुसार मुगु जिल्लामा रहेका स्थानीय सरकारहरूले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रस्तावित बजेट बारे गाउँ नगर सभामा छलफल अघि बढाउने गर्दै आएका छन् ।
गत ८ गते आफ्नो १२ औ गाउँ सभा शुभारम्भ गरेको खत्याड गाउँपालिकाको गाउँ सभाले अध्यक्ष अज बहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास गदै उपाध्यक्ष सरिता रोकायाले सार्वजनिक गरेको बजेट बारे छलफल अघि बढाएको छ । खत्याड गाउँपालिकामा गाउँ सभामा उपाध्यक्ष सरिता रोकायाले आर्थिक वर्ष २०८०–०८१ मा संघीय समानीकरण अनुदानबाट १० करोड ३३ लाख, सशर्त अनुदान शीर्षकबाट २७ करोड २७ लाख, विशेष अनुदानबाट ७० लाख, समपूरक अनुदानबाट १ करोड १५ लाख, राजश्व बाँडफाँडबाट ९ करोड १८ लाख ३१ हजार ३०० प्राप्त हुने यस्तै कर्णाली प्रदेश सरकारबाट समानीकरण अनुदानबाट १ करोड २३ लाख ६६ हजार, सशर्त अनुदान ३ करोड २५ लाख ८५ हजार, विशेष अनुदान २० लाख, समपूरक अनुदान ९० लाख, राजश्व बाँडफाँडबाट ५ लाख ७२ हजार १३२ र गाउँपालिकाले आन्तरिक राजश्वबाट २२ लाख गरि कुल ५४ करोड ५० लाख ६४ हजार ४३२ रुपैयाँ बजेट प्रस्तुत गरेकी थिइन् । बजेट बारे छलफल भइरहेको छ । आगामी २७ गते बस्ने गाउँ सभाले बजेट पास गर्ने उपाध्यक्ष रोकायाले बताएकी छन ।
यता अन्य स्थानीय सरकारहरूले छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाले भने आफ्ना नगर तथा गाउँ सभाको शुभारम्भ १० गतेबाट गरे । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कामर भामले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रममा रहेर उपप्रमुख ऐश्वर्या मल्लले आगामी आर्थिक वर्षका लागि तेहौं नगर सभामा बजेट प्रस्तुत गरिन् । उपप्रमुख मल्लका अनुसार नगरपालिकामा आगामी आर्थिक वर्षका लागी संघीय राजश्वबाट १० करोड ५८ लाख २१ हजार, समपूरक कोषबाट २ करोड २० लाख, विशेष अनुदानबाट २ करोड ३० लाख, सशर्त अनुदानबाट २५ करोड ९५ लाख, समीकरण अनुदानबाट ११ करोड ७२ लाख, प्रदेश राजश्वबाट १४ लाख २८ हजार ४७२, समानिकरणबाट १ करोड ४२ लाख १४ हजार, सशर्तबाट ४ करोड ६७ लाख ७८ हजार र आन्तरिक राजश्वबाट १ करोड ७० लाख गरि कुल ६० करोड ६९ लाख ४१ हजार ४७२ रुपैयाँ प्राप्त हुनेछ ।
बस्ती बस्ती र वडा वडाबाट छनौट हुँदै आएका योजना, नगरपालिका नियमित योजना र गौरवका योजनामा बजेट बाँडफाँड के कति गर्ने बारे छलफल भइरहेकाले बजेट पास असार मसान्त अघि नै भइसक्ने नगर उपप्रमुख मल्लले बताइन् । सोरु गाउँपालिकाको १२ औ गाउँ सभामा अध्यक्ष धर्म बहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपाध्यक्ष केशर बहादुर शाहीले आगामी वर्षका लागि गाउँ सभामा बजेट प्रस्तुत गरेका थिए । गाउँ सभामा उपाध्यक्ष शाहीले ४६ करोड ४६ लाख ४७ हजारको बजेट ल्याएका थिए ।
प्रदेश र संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकको अनुदान अहिले कुन कुन शीर्षकमा कति विनियोजन गर्ने बारे छलफल भइरहेको र सम्भवतः मसान्त अघि नै बजेट सर्वसम्मतरुपमा पास हुने उपाध्यक्ष शाहीले बताए । तीन स्थानीय सरकारहरूले नीति तथा कार्यक्रम पास गरि बजेट बारे छलफल चलाई रहँदा अर्को गाउँपालिका मुगुम कार्मारोङ्ग गाउँपालिकाले नीति तथा कार्यक्रमका साथै बजेट समेत बाँडफाँड गरि पास गरिसकेको छ । जिल्ला कै जुनसुकै काम कारबाही र प्रगतिमा अग्रणी अम्बल कार्य देखाउँदै आएको यो गाउँपालिकाको १२ औ गाउँ सभामा आगामी आर्थिक वर्षका लागी अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले ल्याएको नीति तथा कार्यक्रम र उपाध्यक्ष छिरिङ्ग फुटी लामा प्रस्तुत गरेको ३८ करोड ४१ लाख ३७ हजार ४०० को बजेट सर्वसम्मत पारित गरेको छ । गाउँ सभा असार १० र ११ गते चलेको थियो ।
विद्युत्को पहुँचमा बाँकी रहेको वडा न १ डोल्फु गाउँलाई सौर्य विद्युत्तमा जोडी उज्यालो गाउँपालिका घोषणा गर्ने, उत्प्रेरित शिक्षक जागरूक अभिभावक कार्यक्रम सञ्चालन गर्ने, प्रशासनिक भवन विस्तार, रैथाने बाली उत्पादन, प्रवद्र्धन र कृषकलाई प्रोत्साहनका लागि बिउ पुँजी दिने, स्वास्थ्य संस्थाहरूको स्तर उन्नति, पर्यटकीय क्षेत्रहरूको प्रचार र विकास, स्थानीय कला, सभ्यता, संस्कृति, भाषा, साहित्यको संरक्षण, मुगुम कार्मारोङ्ग प्रज्ञाप्रतिष्ठानको संरचनागत सुरुवात, श्रम बैक मार्फत सिप भएका बेरोजगार युवालाई १८० दिन रोजगारीको सुनिश्चितता, स्थानीय बाल संरक्षण कोष स्थापना, सामाजिक सुरक्षा भत्ता घर दैलो मै बैंकिङ सेवा शुरु, वडा न १, ३, ४ मा इन्टरनेट सेवा विस्तार गर्ने मुख्य मुख्य विषयहरूलाई प्राथमिकतामा राख्दै गाउँ सभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले बताएका छन ।