आज वि.सं. २०८० साल वैशाख २१ गते बिहीवार तदनुसार ई. सं. २०२३ मई ०४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे, चन्द्रोदय : साँझ ०५:०६ बजे र चन्द्रास्त : भोलि बिहान ०४:०६ बजे, वैशाख शुक्लपक्ष (वछलाथ्व) चतुर्दशी तिथि, मध्यरात्रीपूर्व ११:२३ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, चित्रा नक्षत्र, बेलुका ०९:२९ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा कन्या राशिमा, बिहान ०९:०५ बजेसम्म, त्यसपछि तुला राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ, तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । लेनदेनको कारोबार, उठ्ती वा रिनसापटीको विषयले चिन्ता बढाउन सक्छ, आज घरपरिवारका विषयमा चासो राखी सम्पर्क गर्नु ठीक हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध/सम्पर्क बढ्ने तथा सरसहयोग लिन/दिन सकिने समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध/सम्पर्क गर्ने दिन हो । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । प्रेमी/प्रेमिका वा पति/पत्नीका बीचमा ठास्सठुस्स बढ्ने समय हो । सँगै बस्नुहुन्न भने संयम भई फोनमार्फत नै भलाकुसारी गर्ने वा फकाउने काम गर्नुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूणर् मानिन्छ । वरिपरि शत्रुको चंगुल हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । सिनियर्सलाई खुशी बनाउन सकिने छ, कारोबारबाट फाइदा हुने अथवा नोकरीमा प्रशंसा पाउने समय हो, अचानक हातमा धन आइपुग्न सक्छ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूणर् मानिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । असहाय र दुःखीको सहयोग गर्दा मनमा छुट्टै सन्तुष्टिको आभास हुनेछ, घरमा सम्पर्क भएको छैन भने सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वचन लिनुहोला । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ ।