• २०८३ बैशाख १६ गते बुधवार

नेपाल– भारत नेत्रहीन महिला क्रिकेट : नेपाल श्रृंखलामाथि कब्जा जमाउन सफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १६, काठमाडौं । नेपाल र भारतबीच जारी टी ट्वान्टी नेत्रहीन महिला क्रिकेट श्रृंखलामा नेपालले कब्जा जमाएको छ । शनिबारको खेलमार्फत नेपालले ५ म्याचको श्रृंखलामा ३–१ ले अग्रता हात पारेको छ ।


शनिबार काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा श्रृंखलाको चौथो खेलमा नेपाल १० विकेटले विजयी भएको छ । टस जितेर नेपालले फिल्डिङ्ग रोजेपछि पहिलो व्याटिङमा आएको भारतीय टोलीले २ सय ६ रन बनाएको थियो । भारतीय टिमको लागि उपकप्तान गंगावा निलप्पाले ५६ रन, झिली विरुवाले ४४ रन, सिमु दासले ३२, नट आउट फुला सिरेनले २४ र बर्षा युले नट आउट १४ रन प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सरिता घिमिरेले १ विकेट लिंदा भारतका ४ खेलाडी रनआउट भएका थिए ।

जवाफी व्याटिङ्गमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा १७ ओभर ५ बलमा विना क्षतिमा लक्ष्य पार गरेको थियो । नेपालका लागि मनकेशरी चौधरीले ५९ वलमा नट आउट ११६ रन प्रहार गरेकी थिइन् । त्यसै गरी विनिता पुनले पनि ५० वलमा नटआउट ८९ रन प्रहार गरेकी थिइन् ।

यस सिरिज अन्तर्गतको ५ खेलमा ३ खेलमा विजय हासिल गरेर नेपालले जीत सुनिश्चित गरेको छ । बाकीँ एक खेल भोलि आइतबार खेलिने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस