• २०८३ बैशाख १६ गते बुधवार

मनकामनामाताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

आज वि.सं. २०७९ फाल्गुन १८ गते बिहीवार तदनुसार ई. सं. २०२३ मार्च ०२ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, नेपालमा सूर्योदय : बिहान ०६:३१ बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, चन्द्रोदय : दिउँसो ०२:०९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:०७ बजे, फाल्गुन शुक्लपक्ष (चिल्लाथ्व) दशमी तिथि, बिहान ०८:२१ बजेसम्म, त्यसपछि एकादशी तिथि, आर्द्रा नक्षत्र, दिउँसो ०२:२१ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्यक्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो, नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमासमेत फाइदा लिन सकिने छ । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । घरायसी वातावरण धमिलो देखिन्छ, जीवनसाथी वा आफन्तसँग कुराकानी भएको छैन भने घरमा सम्पर्क गरी परिस्थिति बुझ्नुहोला, नत्र मतभेद बढ्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । कठोर र क्रूर निणर्य लिनुपर्ने कमजोर समय छ, तथापि विवेकको प्रयोग गरेमा व्यक्तिगत साख कायम राख्न सफल भइने छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आय आर्जनका मार्गमा स्पष्ट निणर्य गर्ने समय हो । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । एक्लै घोरिरहन मन लाग्छ, व्यक्तित्वमा घमण्ड र अहङ्कारले प्रवेश गर्ने समय छ, तर आज संयम भएर अर्काका कुरा सुनेको राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । जोखिम र सङ्कटले भरिपूणर् समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घर/परिवारमा रमाउने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । घरपरिवारबाट सुखद समाचार आउनेछ, घुमघाममा जाने वा मनोरञ्जन गर्ने मौका जुर्नसक्छ । आज प्रतियोगी र प्रतिस्पर्द्धी पनि कमजोर रहनेछन् । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । महत्त्वाकाङ्क्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नुहुन्छ । जुवातास, लटरी, चिट्ठा र सट्टापट्टामा धनलगानी गर्नुभयो भने पछुतो हुनेछ । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । निणर्यात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस