वि.सं. २०७९ मङ्सिर १४ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर ३० तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:३७ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, चन्द्रोदय : दिउँसो ११:१८ बजे र चन्द्रास्त : बेलुका १०:४९ बजे, मार्गशीर्ष शुक्लपक्ष (थिल्लाथ्व) सप्तमी तिथि, दिउँसो ०१:४१ बजेसम्म, त्यसपछि अष्टमी तिथि, धनिष्ठा नक्षत्र, दिउँसो १२:२० बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । परिश्रम र प्रयास गर्ने दिन हो, दृढ इच्छाशक्ति राख्नुपर्छ, नयाँ जिम्मेबारी वा दायित्व वहन गर्न पाइने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । पारिवारिक वा सामाजिक काममा व्यस्त रहँदा बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पदप्रतिष्ठामा बृद्धि हुनेछ, धनवैभव जुटाउने अनुकूलता मिल्नेछ, आफ्नो कुलघरान र खानदानको इज्जत बढाउने कुनै कार्यक्रममा सहयोग गर्न मन लाग्नेछ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । चिन्ता/शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ, तर आज पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । लगनशील भएर काम गर्नसके पदप्रतिष्ठा, स्वाभिमान र सम्पत्ति फिर्ता आउनसक्छ, कुनै प्रशासनिक समस्या छ भने प्रयास गरेमा हल हुने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । तपाईंको आन्तरिक सामर्थ्य र तीक्ष्ण बुद्धिको प्रयोगले कुनै महत्त्वपूणर् काम बन्ने समय छ । सन्तान वा भाइबहिनीको उन्नतिप्रगतिका लागि केही धनराशि खर्च गर्नुपर्ने हुन्छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्नेछैन । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । मुख छुचो हुने दिन छ, देखेको कुरामा प्याच्च बोल्नु हुँदैन, नत्र बेकारको लफडा र तनावमा पर्न सक्नुहुन्छ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला ।