असोज २४, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताएका छन् । आज काठमाडौँमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका हुन् ।

उनले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउनसक्नेमा उनको जोड छ । “हामीले नेपालबाट अब विद्युत् बिक्री गर्नुपर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । त्यसकारणले विद्युत् पीपीए गर्न नपर्ने कुरा अब केही छैन,” उनले भने, “विद्युत् उत्पादन गर्नमा हामीले अब क्यु फोर्टी, सिक्स्टी भन्नुपर्ने अवस्था पनि छैन । भएको पानीको सबै सदुपयोग गरेर विद्युत उत्पादन गर्नसक्यो भने र त्यसबाट हामीले हाइड्रोजन, एमोनिया बनाएर विश्वबजारमा प्रतिष्पर्धी भएर हामीले पुर्याउन सक्यौँ भने नेपालको समृद्धी त्यहीँ छ ।”