असोज २०, काठमाडौं । काठमाडौं महानगरपालिका–३ महाराजगन्जस्थित सडकमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् । बिहीबार बिहान बा ४२ प ३३१४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज खाडीपाखा बस्ने २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते भएका गुरुङको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कुटरमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।