भदौ १२, काठमाडौं । प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपतिले पठाएको सन्देश वाचन गरेका हुन् ।
संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही विषयमा सुझाव र सन्देशसहित पुनर्विचार गर्न राष्ट्रपति भण्डारीले पुनः संघीय संसदमा फिर्ता पठाएकी छन् ।
नागरिकता विधेयक विधान समितिमा पठाउने प्रस्ताव
राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरिँदै छ । आइतबारको दोस्रो राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी छिन् ।
