वि.सं. २०७९ आषाढ १५ गते बुधवार तदनुसार ई. सं. २०२२ जुन २९ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, आषाढ कृष्णपक्ष (तछलागा) अमावस्या/औंसी तिथि, बिहान ०७:०६ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, आर्द्रा नक्षत्र, बेलुका ०९:३२ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । नयाँ मित्रको सङ्गतले ज्ञान बढाउने समय हो । सामाजिक सम्बन्ध सुदृढ बनाउने समय छ, दानपुण्य र परोपकारमा मन जानसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धनबृद्धिका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । मनको आकर्षण र आन्तरिक क्षमताको उपयोग गरी परिवारमा प्रभुत्व जमाउन सकिने छ । तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । मौखिक अभिव्यक्ति, साहित्य, कला र मनोरञ्जनसँग सम्बन्धित विषयको ज्ञानप्राप्तिका लागि राम्रो समय देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ उत्साह जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर अहङ्कारबाट टाढा रहनु राम्रो हुनेछ । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भनेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । विगतका चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्ना भावना र महत्त्वाकाङ्क्षाहरू उपर नियन्त्रण गर्नुपर्ने समय हो, लटरी, सट्टापट्टा वा अन्य कुनै आकस्मिक स्रोतबाट धेरथोर धन लाभ हुनसक्छ । सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता अपनाउनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । घरको जीणर्ोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अड्किएको वा फँसेको धन हात पर्नसक्छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ । कुनै कुरामा दुविधा भएमा घरपरिवारका बृद्ध सदस्यहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो मिहिनेत गर्ने दिन हो, अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार प्रतिफल पनि राम्रै हुनेछ । कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
इच्छाशक्ति र लगनशीलता बढ्नाले हाँके/ताकेको लक्ष्यमा पुग्न सफल भइने छ । नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । ज्ञानको भण्डार पूणर् हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नियम/कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको शङ्का र गुनासो बढ्ने गर्दछ । गरेका प्रत्येक काममा असफलता वा बाधा व्यहोर्ने दिन हो, त्यस्तै आज मनमा टुसाएको भ्रमले भयङ्कर मनोविकृतिलाई निम्त्याउन सक्छ, होस राख्नुपर्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रेमीप्रेमिकाको मिलन हुने र इच्छाअनुरूप एकान्तमा बस्न पाउने तथा मनका आन्तरिक भावना साटासाट गर्ने दिन हो । पटकपटक प्रयास गरे पनि सहयोगी र मित्रवर्गसँग सम्बन्धमा धमिलोपना आउने छ, सहयोग आदान/प्रदान र व्यवहार धान्नसमेत मुस्किल पर्नसक्छ । मौजमस्ती र आनन्दका लागि समय प्रदान गर्ने दिन हो, तथापि तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । शारीरिक थकान र बेचैनीको समय हो, अरुको समस्यामा चिन्ता गर्ने हुँदासमेत तनावमा बृद्धि हुनसक्छ । हरेक काममा सहनशक्ति बलियो बनाउनु पर्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुख/सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके/ताकेका काम पनि सम्पन्न हुने समय हो । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्ने समय छ । ज्ञान बढाएर व्यक्तित्वको विकास गर्नु उचित हुन्छ, केही गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । गरेका प्रयासमा असफल हुन सकिन्छ । दबाब र मानसिक तनाव बढ्ने दिन हो । हाकिम वा उच्चपदस्थ अधिकृतसँगको सम्बन्ध कमजोर बन्नसक्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।