वि.सं. २०७९ आषाढ ११ गते शनिवार तदनुसार ई. सं. २०२२ जुन २५ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, आषाढ कृष्णपक्ष (तछलागा) द्वादशी तिथि, मध्यरात्रीपछि ०२:०९ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, भरिणी नक्षत्र, दिउँसो १२:३० बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, साँझ ०६:५६ बजेसम्म, त्यसपछि बृष राशिमा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । नयाँ उत्साह जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर अहङ्कारबाट टाढा रहनु राम्रो हुनेछ । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफूलाई चित्त नबुझेको कुरालाई राम्ररी पहिल्याएर भन्न सकेमा मनको तुस हटेर जानेछ र सुखानुभूति मिल्नेछ । कार्यक्षेत्रमा बोझ बढ्ने र धेरै मिहिनेत गर्नुपर्ने दिन छ । आर्थिक दृष्टिले कमजोर दिन भएकाले अनावश्यक खर्चमा नियन्त्रण गर्नु जायज हुन्छ । मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा केही लाभ लिने समय हो, तर पनि आर्थिक विषयले तनाव बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैनिक कामधन्दामा सहजताको अनुभूति हुनेछ, दाम्पत्य जीवनमा पनि सोचेजस्तै समझदारी रहने दिन छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नेछ । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको/नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । घरको जीणर्ोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अड्किएको वा फँसेको धन हात पर्नसक्छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । व्यक्तिगत प्रयोजनमा केही महत्त्वपूणर् समय बित्नसक्छ । सम्बन्धमा फाटो बढ्ने भएकाले लवमेटको सम्पर्कमा रहनु होला । नयाँ ढंगले कारोबारमा सुधार गर्न योजना बनाउने दिन हो, कुनै पेसामा आबद्ध हुनुहुन्छ भने पदोन्नति हुने वा चाहेको परिणाम हात पार्न सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विशेष परिस्थितिमा काम छाडी बाहिर निस्कन सकिन्छ, तथापि नियमित कामबाट फाइदा नै हुनेछ । नयाँ लगानीले धनधान्य र भाग्यबल दुबै पक्षमा लाभ हुनेछ । घरपरिवारका सदस्यहरुसँग पूणर् समय हर्षोल्लासका साथमा बित्नेछ । पतिपत्नी एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामको चाप र दायित्व बढ्दै जाँदा शरीरमा कमजोरी देखिन सक्छ, व्यवहारिक जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यको पनि ख्याल राख्ने समय हो । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी शान्त र संयम भई आफ्नो काममा निरन्तरता दिनु राम्रो हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
लामो समयपछि कतै एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । शारीरिक थकान र बेचैनीको समय हो, अरुको समस्यामा चिन्ता गर्ने हुँदासमेत तनावमा बृद्धि हुनसक्छ । हरेक काममा सहनशक्ति बलियो बनाउनु पर्छ । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्ने समय छ । ज्ञान बढाएर व्यक्तित्वको विकास गर्नु उचित हुन्छ, केही गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । कुनै समस्या देखिएको छ भने पार्टनरसित भेट गरी कुरा राख्नसके समाधानको बाटो पहिल्याउन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू सहज हुने सुन्दर समय छ । यस अवधिमा घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्नु राम्रो हुन्छ । अन्य व्यापारका तुलनामा सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदि कारोबारमा मनग्ये लाभ पाउने समय छ । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने तथा पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने राम्रो समय छ । नयाँ सवारी साधन किन्ने वा साटफेर गर्न योजना बनाउने दिन हो । साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अचानक नचिताएको धन हातमा आइपुग्ने समय हो, कतिपय परिस्थितिमा धनको फुइँ लाउने अवसर पनि आउने छ, तर खर्चबर्चको उपभोगमा सचेत र संयम हुनुपर्ने दिन हो । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, ससाना कुरामा पनि नोकझोक बढ्ने समय छ ।