जेठ २१, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह काठमाडौंको फोहोर व्यवस्थापनको विषयलाई लिएर नुवाकोटको सिसडोल पुगेका छन् । मेयर साहले सिसडोल पुगेर स्थानीयको माग सम्बोधन गर्न आफू तयार रहेको र काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

स्थानीयले भने पहिले आफ्ना मागको सम्बोधन हुनुपर्ने पुरानै अडान दोहो-याएका छन् । मेयर साहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने वचन दिए पनि स्थानीय भने साहको वचनमा सहमत हुन सकेनन् । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका थिए ।
त्यसका लागि आफूले विज्ञसँग आवश्यक छलफल गरेको जनाएका छन् । स्थानीयको सामुन्ने मेयर साहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्यास पनि बनाइन्छ । त्यसका लागि तीन महिना लाग्छ ।
केमिकल हालिसकेपछि एक साताभित्र गन्ध हटाइन्छ,’ उनले भने, ‘बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो । सड्ने र नसड्ने फोहोर छुट्टयाउने, त्यसबाट मल र ग्यास निकाल्ने हो ।’ मेयर साहले स्थानीयसँग तत्कालका लागि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरेका थिए ।
त्यसक्रममा उनले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नरहेको भन्दै काम गर्ने वातावरण मिलाइदिन स्थानीयसँग आग्रह गरेका थिए । स्थानीयले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान यथावत् राखेका छन् । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।