• २०८३ भाद्र १६ गते मङ्गलवार

पाएको टिकट त्यागेर निवेश यादवले युवा पुस्ताको गौरव बढाए

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

वैशाख १४, गौर । नयाँ संरचना अनुरुप देशमा हुन लागेको दोस्रो स्थानीय तहका निर्वाचनमा रोचक तथ्यहरु सार्वजनिक भइरहेका छन् । सबै पार्टीमा चुनाव लड्न टिकटका लागि कतै विवाद हुँदा झडप त कतै विरोध प्रदर्शनका घटनाहरु प्रायजसो स्थानमा देखिएको छ । तर रौतहटको राजदेवी नगरपालिकामा देखिएको परिदृश्यले भने फरक संदेश दिएको छ ।

संसदको उपस्थितिका आधारमा देशको सबैभन्दा ठूलो दल नेकपा एमालेले राजदेवीमा उपप्रमुख पदका लागि २४ वर्षीय युवा नेता निवेश यादवलाई छनोट गर्यो । नगर कमिटीको सिफारिस हुँदै जिल्ला र प्रदेश कमिटीले रायसहित पार्टीको केन्द्रीय सचिवालयले यादवलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरी उनलाई टिकट पठाएको थियो । तर पार्टीले यादवलाई उम्मेदवार बनाएपछि मेयर पदका उम्मेदवार अंशु सिंहले आफुले भनेको व्यक्तिलाई उपप्रमुख र सबै वडाको टिकट नदिए पार्टी छाडेर राप्रपा प्रवेश गर्ने तयारी अगाडि बढाएपछि एमालेको मेयरमा लड्न यादवलाई अगाडि सारेको थियो । तर राप्रपाले समेत सिंहलाई टिकट नदिएपछि पुन: वार्ता गरी यादवको उम्मेदवारी रोक्न अन्य नेताहरुलाई समेत उक्साएर यादवमाथि दबाब सृजना गरे ।

पछिल्लो समय नगरपालिका मात्र नभइ रौतहट जिल्लामै लोकप्रीयता हासिल गरेका यादवलाई युवा क्यानडिडेटको रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत साथ दिएका थिए । मनोननय दर्ता गर्न अन्तिम दिन भएको र पार्टीका केही नेताहरुले यादवलाई जसरी पनि रोक्ने योजना बनाएका कारण उनलाई यसपालिको चुनावमा नलड्न केन्द्रीय तथा प्रदेशका नेताहरुले आग्रह गरेपछि यादवले पार्टीलाई सघाउन आफुले पाएको टिकट फिर्ता गरिदिएको एमाले मधेश प्रदेशका एक जना सदस्यले बताए ।

“मेयर उम्मेदवार लगायत केही कमरेडहरुले पार्टीको डिसिजनभन्दा पनि व्यक्तिगत अहंकारलाई मुल एजेण्डा बनाएपछि निवेश यादव कमरेड पछि हट्नुभयो । उहाँ पार्टीको सबैभन्दा सक्रिय कमरेड हो । हाल पार्टीको जिल्ला कमिटी सदस्य र राष्ट्रिय युवा संघको स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहनुभएको उहाँ जिल्लामा अति लोकप्रीय हुनुहुन्छ ।” ती प्रदेश सदस्यले भने, “मेयर पदमा महिला उम्मेदवार भएकोल उहाँलाई उपमेयरको टिकट दिइएको थियो । पार्टीले टिकट दिएपछि उहाँलाई साथ दिनुको सट्टा व्यक्तिवादी रुपमा पछि हटन दबाद दिने कार्य भने अलि ठिक भएन । तर उहाँ अहिले २४ वर्षको हुनुभयो, उहाँको पुरै जीवन बाँकी छ । तर पार्टीलाई बन्धक बनाउन चाहनेहरुलाई परास्त गर्दै उहाँले पाएको टिकट समेत फिर्ता गरेर युवा पुस्ताको गौरव बढाउनु भएको छ । एमालेको मान राख्नुभयो, कमरेडलाई सलाम छ ।”

यादवको उम्मेदवारी परेको भए एमालेबाट लड्ने उनी सम्भवत देशकै कान्छा उपमेयर उम्मेदवार हुने थिए । राजनीतिक दलहरुले युवा पुस्तालाई अगाडि सार्न कन्जुस्याइ गरिरहेको बेला पाएको टिकट समेत त्यागेर पार्टीलाई साथ दिएर यादवले नैतिकताको पाठ सिकाएका हुन ।

यस विषयमा यादवसँग सम्पर्क गर्दा उनले टिकट पाएको तर समयको मागअनुसार उम्मेदवारी भने नदिएको बताए । पार्टीले आफ्नो क्षमता र योग्यता हेरेर टिकट दिएकोमा धन्यवाद दिदै उनले पार्टी सिपाहीको रुपमा आन्दोलनलाई जोगाउन आफू ब्याक भएको बताए । उनले देशमा बदलावका निम्ति नेकपा एमालेको विकल्प नभएकोले सुर्य चिन्हमा मतदान गर्न आह्वान समेत गरे ।

“मेरो योग्यता र क्षमता हेरेर पार्टीले मलाई उपमेयरको टिकट दियो त्यसका लागि सर्वप्रथम पार्टी नेतृत्वलाई धन्यवाद दिन चाहन्छु । यो मेरो मात्र नभई युवा पिँढीको लागि गौरवका विषय हो कि आज नेकपा एमालेले अधिकांश स्थानमा युवालाई अगाडि सारिरहेको छ । जहाँसम्म मेरो पालिकाको विषय हो यसमा खासै भन्नुपर्ने केही पनि छैन । पार्टीले मलाई अगाडि सार्यो, केही सामान्य समस्या देखिए, जसको समाधानको लागि म ब्याक भएर पार्टीलाई सहज बनाइदिए ।” यादवले भने, “मैले पाएको टिकट फ्रेमिङ गरेर सजाएर राख्छु, त्यो पार्टीले मलाई गरेको सम्मान हो । उम्मेदवार जो भएपनि जिताउने मेरो दायित्व हो । हामी चुनाव जित्छौँ किनकी समृद्ध नेपाल एमालेबिना सम्भव छैन ।”

एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य रहेका यादव रौतहटको जिल्ला कमिटी सदस्य हुन् । करिब आधा दशक राष्ट्रिय स्तरको पत्रकारितामा बिताएका यादव पछिल्लो समय भुगोल केन्द्रीत सामाजिक तथा राजनीतिक गतिविधिमा बढी सक्रिय थिए । नगरका विभिन्न वडाहरुमा सडक, भवन पूर्वाधार तथा मठ मन्दिर संरक्षणको क्षेत्रमा उनले गरेका कामहरुको स्थानीयले मुक्तकण्ठले प्रसंशा गर्दछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस