चैत २८, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् ।आज काठमाडौँमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन् । केही मानिसहरुको अर्ग्ल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन् । आज हामीसँग विदेशी मुद्राहरुको सञ्चिति छैन, घटिरहेको छ । चिन्ता व्यक्त भइरहेको छ । किनभने हामीले ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौँ ।’
नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए । उनले भने, ‘आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थीहरु पढ्नको लागि विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ । के हामीले यसको कुनै आँकलन गरेका छौँ ?’