चैत ६, बैतडी । बैतडीमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारूको मृत्यु भएको हो ।

बालुवा बोकेर मौराबाट फर्किरहेको सुप प्र.१००२त ५५९८ नम्बरको ट्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
उनकाअनुसार ट्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो । घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।