फागुन २५, काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी मुद्रा (डलर)को बिक्रीदर १२३ दशमलव ४४ रुपैयाँ र खरिददर १२२ दशमलव ८४ रुपैयाँ निर्धारण गरेको थियो । यो भाउ अहिलेसम्मकै उच्च खरिद बिक्री दर हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलर महँगिएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढ्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार रुस–युक्रेन युद्धको असरका कारण भारतीय मुद्रा कमजोर हुँदै गएको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर छ । डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो । यसले मुलुकको रेमिट्यान्स आय भने बढ्छ । तर, अधिकांश वस्तु आयातमै निर्भर हुनुपरेकाले डलरको भाउ अकासिएसँगै नेपालले ठूलो नोक्सानी खेप्नुपर्नेहुन्छ ।
डलरको भाउ बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आय भने केही बढ्छ । डलरको भाउ बढेको बेलामा रेमिट्यान्स पठाउनेले बढी मूल्य पाउँछन् । तर, सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट यस्तो फाइदा लिन भने सक्दैनन् । विभिन्न देशमा छरिएर रहेका नेपाली कामदारले त्यहाँको स्थानीय मुद्रामा तलब प्राप्त गर्छन् र त्यहाँको मुद्रा पनि नेपालको जस्तै डलरसँग अवमूल्यन भएको छ भने सो मुलुकमा रहेका नेपाली कामदारले कुनै लाभ पाउँदैनन् ।
यसरी अत्यधिक रूपमा बढेको डलरको भाउ वृद्धिले मुलुकको निर्यात व्यापारलाई भने केही राहत मिल्नेछ । वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत डलर वृद्धिले सुधार हुनेछ । स्वदेशी हस्तकलाजन्य वस्तु उत्पादनलगायतका सामान निकासीकर्ताको आम्दानी बढ्छ । तर, हाल कोराना महामारीको प्रभावका कारण पर्यटन क्षेत्र धरासायी भएकाले डलर बढे पनि त्यसको लाभ लिन सक्ने अवस्था छैन ।
यसैगरी, आफ्नो देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन सजिलो हुन्छ । पहिलेको भन्दा सस्तोमा पाएपछि सामान बढी निर्यात हुने सम्भावना रहन्छ । नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने गरी यहाँ पर्याप्त सामान उत्पादन नभएकाले निर्यात बढ्ने सम्भावना छैन ।
अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढ्दा विदेशी सामान महँगो हुने भएकाले स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई भने केही फाइदा हुन्छ । हाल दैनिक उपभोग गरिने अधिकांश वस्तु डलरमा भुक्तानी गरेर आयात गरिने भएकाले यहाँ थप महँगो पर्न जान्छ । जसका कारण मुलुकको व्यापारघाटा थप बढेर जाने सम्बन्धित सरोकारवाला एवं अर्थविद्को भनाइ छ । उनीहरूका अनुसार नेपाली मुद्रासँग भारुको सटहीदर १ सय ६० रुपैयाँ यथावत् रहेको भए पनि भारुमा सामान आयात गर्दासमेत महँगो पर्नेगर्छ । भारतमा तयार हुने वस्तुका लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् ।
सरकारले बजेटमा पुँजीगत खर्चका लागि मुख्य स्रोत विदेशी ऋणलाई मानेको हुन्छ । नेपाल राष्ट्र बैंकमा सरकारको नेपाली मुद्रामा खोलिएको खाता हुन्छ । ऋणको किस्ता र ब्याज सरकारले तत्काल डलर किनेर भुक्तानी गर्ने गर्छ । सरकारले डलर सस्तो भएको समयमा लिएको ऋण तिर्दा बढी बढी भुक्तानी गर्नुपर्नेहुन्छ । जसले मुलुकको अर्थ व्यवस्थालाई थप कमजोर बनाउनेछ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।