फागुन १२, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परेको बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि महामन्त्री थापाले अब गठबन्धन अगाडी बढ्न नसक्ने भइसकेको बताउनुभएको हो ।

गठबन्धन धरापमा पुगिसेकोको उल्लेख गर्दै उहाँले गठबन्धनबाट एमसिसी पार नलाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धन अघि जाँदैन । धरापमा पुगिसक्यो । अब गठबन्धनबाट पार लाग्दैन । एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच साँझ ७ बजे पु्नः छलफल हुने थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दल सरकार र गठबन्धनको विषय होइन । राष्ट्रको विषय हो । तपाईंहरुले दर्ता गर्नुभएको विषय हो । सदनको अवरोध हटाउने सबै विकल्पमा छलफल गरौं भन्ने कुरा प्रधामन्त्रीज्यूले राख्नुभयो ।’