• २०८३ बैशाख २७ गते आइतवार

५ करोड ४१ लाख बराबरको तस्करीका सामान बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

फागुन ८, मोरङ । सशस्त्र प्रहरीले पछिल्लो ५ महिनाको अवधिमा प्रदेश १ का विभिन्न स्थानबाट ५ करोड ४१ लाख ८ हजार मूल्य बराबरको तस्करीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रदेश १ को प्रमुख बनेर डीआईजी कमल गिरी आएयता असोज महिनादेखि हालसम्म झन्डै साढे ५ करोड बराबरको तस्करीको सामान सशस्त्रले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रवक्ता एसएसपी विश्व भट्टराईका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि पछिल्लो समय विशेष टोली परिचालित छ । डीआईजी गिरीको निर्देशनमा सशस्त्रले सक्रियता बढाएसँगै तस्करी नियन्त्रणमा उल्लेख्य सफलता मिलेको भट्टराईले बताए ।

उनका अनुसार नेपालबाट भारत र भारतबाट नेपालतिर तस्करी हुँदै आएका मरिच, मटरसहित कपडा, सूर्ति, चिनी, काजु लगायत किराना एवं दैनिक उपभोग्य वस्तु बरामद गरिएको हो । असोज, कात्तिक, मंसिर, पुस र माघ महिनामा भन्सार छली गरेर अवैध तरिकाले आयात निर्यात गरिएका सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जानकारी भट्टराईले दिए ।

उनका अनुसार असोजमा ९२ लाख ३९ हजार १ सय, कात्तिकमा १ करोड ८ सय, मंसिरमा १ करोड २० लाख ६२ हजार १ सय, पुसमा ८१ लाख ३३ हजार ९ सय र माघमा १ करोड ४६ लाख ७२ हजार ४ सय रूपैयाँ बराबरको सामान विभिन्न स्थानबाट बरामद गरिएको छ । सीमा क्षेत्रबाट हुने तस्करी लगायत अवैध गतिविधी नियन्त्रणलाई सशस्त्रले पहिलो प्राथमिकतामा राखेको एसएसपी भट्टराईले बताए ।

उनका अनुसार ५ महिनाको अवधिमा सशस्त्रले हतियार, विष्फोटक पदार्थ र हतियार बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको छ । एउटा कटुवा पेस्तोल, ८० थान कमर्सियल डेटोनेटर, ९१ लोला नेपोलाइट, भरुवा बन्दुक बनाउन प्रयोग गरिने फलामका ७ वटा पाइप, बारुद बनाउन प्रयोग हुने ३ किलो ३ सय ग्राम गन्धक र बारुद बनाउन प्रयोग हुने ५७ किलो ७ सय ७५ ग्राम सोडा बरामद भएको जानकारी उनले दिए ।

सशस्त्रले यो अवधिमा ८ सय २८ क्यूफिट काठसमेत बरामद गरेको छ । उक्त काठ १५ लाख २८ हजार चार सय ६८ रूपैयाँ बराबरको रहेको भट्टराईले बताए । उनका अनुसार बालुवा, गिट्टीसमेतका नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएका १० वटा ट्याक्टर र एउटा टिपर नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाइएको छ ।

सशस्त्रले अवैध मदिरा र लागुऔषध नियन्त्रणमा पनि चासो दिएर काम गरिरहेको छ । ५ महिनाभित्रमा सशस्त्रले लागुऔषध गाँजा २ सय ९२ किलो, लुपिजेसिक, ३ सय ३० एम्पुल, एभिल ५४ एम्पुल, फेनारगन १ सय १० एम्पुल नियन्त्रणमा लिएको छ । भारतबाट ल्याउँदै गरेको अवस्थामा ब्राउन सुगर (खैरो हेरोइन)६४ ग्राम ५८ मिलिग्राम, नाइट्रोजेपाम १ सय ६० ट्याब्लेट, डाइजापाम ८६ र स्पास्मोप्रोक्सिभन ३ सय ६८ ट्याब्लेटर बरामद गरिएको जानकारी एसएसपी भट्टराईले दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस