फागुन ८, नवलपरासी । नवलपरासी पुर्व बिनई त्रिवेणी गाउँपालिका वडा नं। ६ परसैहिया स्थित आस्थाको मेला मदार बाबा मेला मदरिया पहाडमा हिन्दु मुस्लिम दुबैको आस्थाका साझा केन्द्रको रूपमा विकसित भएको मदारबाबा मेला यस वर्ष फागुन ९ गते देखी शुरू हुने भएको छ । मेलाको आयोजक मदार बाबा मजार सरक्षण कमिटीले मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

मेलामा आउने श्रद्धालुका लागि खानेपानी, विरामीका लागि निशुल्क उपचार शिविर ,राति बस्नेलाई बास, शौचालय साथै सुरक्षाका लागि चुस्तदुरूस्त व्यवस्था मिलाइएको आयोजक कमिटिका अध्यक्ष जमालुदिन मिंयाले बताएका छन । मदार बाबा मेलामा भर्नाको लागि नेपालका काठमाडौ ,पोखरा ,पाल्पा ,चितवन ,रूपन्देही ,कपिलवस्तु ,नवलपरासी लगाएत भारतको दिल्ली, मुम्बइ, बिहार, बंगाल लगायतको विभिन्न स्थानहरूबाट मेलामा आउने भक्तजन अनुमान गरिएको छ । मौसम सफा भएको हुनाले विगत वर्षहरूको अनुभवको आधारमा यस वर्ष अझ बढी श्रद्धालु आउने विश्वास गरिएको आयोजक कमिटिका सचिव सम्सुल होदाले बताए ।

यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दुको मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुकोभाकल तथा मनोकामना पुरा हुने र सन्तान नहुने दम्पती सान्तान पाउने तथा दुखियाको दुखहरण हुने धार्मिक मुल्य मान्यता र विश्वास भएको आयोजक कमिटीको भनाइ छ ।

श्रद्धाको यस केन्द्रमा ४ वटा महत्वपुर्ण स्थान रहेको बताइएको छ । महलबारीमा मस्जिद रहेको छ भने यसबाट अगाडि बढदै जादा गुद्दरबाबा, चावलधोइल, नाकदर्वा र उच्च पहाडमा मदारबाबा स्थान रहेका छन । पहाडमा रहेको मदारबाबा स्थानमा पुग्न जो कोही आतुर रहेको पाइन्छ । महलबारी मस्जिदबाट ९ किलोमिटर पहाड माथि मदारिया डाँडामा अवस्थित छ ।

मदारबाबासंग आस्था राख्ने मुस्लिम, हिन्दु, बौद्धिष्ट, क्रिश्चियन लगायत विभिन्न समुदायका त्रिर्थालूहरुको यहाँ भिडभाड लाग्ने गरेको छ । मदारबाबाको मुख्य स्थल मजारमा पुग्न निकै कठिनाई हुने गर्छ तर पनि ५ देखि ६ घण्टासम्म पहाड चढेर मुख्य स्थलमा पुगी आफनो दुख तथा मनोकामना बाबालाई सुनाउने गरेका छन् ।
मदार बाबा स्थलमा हिन्दु मुस्लिम दुबै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ एकै स्थानमा पुजापाठ गर्ने संसारकै दुर्लभ स्थान रहेको हुनसक्ने अनुमान समेत गरिदै आएको कमिटिका कोषाध्यक्ष जुलेखा खातुनले बताईन ।
मदार बाबा मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा सुरक्षा व्यवस्था मिलाउनका लागि सुरक्षा कर्मी परिचालन गरिने साथै स्वयंसेवक ,ठाउँमा निशुल्क स्वास्थ्य शिविर , सार्वजनिक शौचालय निर्माण लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था मिलाइएको मेला कमिटीका अध्यक्ष मियाले बताएका छन् ।
मेलामा व्यापारीहरूको व्यापक उपस्थिती रहेको छ । व्यावसायीहरू मेलामा राम्रो आम्दानी गर्नसक्ने भएकाले मेला शुरू हुनु एक हप्ता अगावै महलवारी र परसैयामा आइ पुगेका छन् । अस्थायी पसलका लागि घरटहरा धमाधम निर्माण गरिन थालिएको छ ।