फागुन ६, माेरङ । गुप्ताङ्गमा लुकाएर ल्याइएको छ लाख रूपैयाँ नगदसहित सशस्त्र प्रहरीले विराटनगरबाट दुई जना महिलालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ की ३५ वर्षीया गीता साह र विराटनगर–१५ की ३७ वर्षीया मुन्नी साह रहेका छन् ।

सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले दुवै जनालाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार उनीहरुले गुप्ताङ्गमा लुकाएर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा तीन–तीन लाख गरेर छ लाख रूपैयाँ नगद बरामद भएको हाे ।
भारतबाट लागुऔषध वा अन्य कुनै अवैध वस्तु लिएर नेपालतिर आउँदै गरेको गोप्य सूचनाका आधारमा महिलाहरुलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले विशेष टोली परिचालन गरेका थिए । डिआइजी गिरीको निर्देशनमा परिचालित टोलीले सीमा क्षेत्रमा रोकेर शरीर खानतलासी गर्दा महिलाहरुको साथबाट उक्त रकम बरामद भएको सशस्त्रले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट पाँच सय र एक हजार दरका नोट फेला परेको छ ।
बरामद भएको रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि बिहीबार साँझ विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ । बरामद भएको रकमको स्रोत नखुलेको र पक्राउ परेका महिलाले पनि केही नखुलाएको सशस्त्रले जनाएको छ । सशस्त्रका अनुसार उक्त रकम अवैध हुन्डी कारोबारको हुन सक्ने अनुमान गरिएको छ ।