• २०८३ असार ९ गते मङ्गलवार

कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी सहितलाई डेढ अर्ब बढीको भ्रष्टाचार मुद्दा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस १८, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्करदिप बुढालाई एक अर्ब ५३ लाख बराबरको भ्रष्टाचार मुद्दा चलाएको छ।

अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उनीहरू समेतले कृषि सामग्री कम्पनी लिमिटेडलाई हानी-नोक्सानी र आफूसमेतलाई गैरकानूनी लाभ लिने मनसाय लिएर काम गरेको पुष्टि भएको उल्लेख छ।

‘ठेक्काबाट आपूर्ति गरिएको डिएपी मलको ९० प्रतिशतबापत हुन आउने एक अर्ब ५३ लाख भुक्तानी निर्णयमा संलग्न भई भुक्तानीसमेत गरेको देखिन आएकाले नेत्रबहादुर भण्डारी, विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्करदिप बुढाले एक अर्ब त्रिपन्न लाख बाइस हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र उपदफा (१)को देहाय (झ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर हुन तथा प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी कृषि सामग्री कम्पनी लिमिटेडको प्रमुख पदाधिकारीसेमत रहेको देखिँदा सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुनसमेतको मागदाबी लिइएको छ,’ अख्तियारको विज्ञप्तिमा भनिएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरू र आपूर्तिकर्ता समेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनेर प्रमाणपत्र नवीकरण नगरेको नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक कम्पनीलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको देखिएको अख्तियारले जनाएको छ। कानुनविपरीत बिनाप्रतिस्पर्धा उक्त कम्पनीलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन तयार गर्न दिएको अख्तियारको दाबी छ।

गलत प्रतिवेदन तयार गर्ने गराउने कार्यमा संलग्न नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक कम्पनीका प्रबन्ध निर्देशक सलिल देवकोटा, सोही संस्थामा ल्याब निर्देशकको जिम्मेवारीमा रही परीक्षण प्रतिवेदनको पूर्ण जवाफदेही बहन गर्नुपर्ने सुनिलबाबु खत्री, तथा आफू प्रयोगशाला परीक्षण कार्यमा संलग्न नरहेको अवस्थामा समेत परीक्षण प्रतिवेदन प्रमाणित गरी भन्सार कार्यालय तथा कम्पनी कार्यालयमा प्रतिवेदन गर्ने सो संस्थामा कार्यरत सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी तथा सम्झौता गर्ने मनोज आचार्यसमेतको उक्त कसुरमा संलग्नता देखिंएको पनि अख्तियारले भनेको छ। उनीहरूउपर पनि एक अर्ब त्रिपन्न लाखको भ्रष्टाचार मुद्दा अख्तियारले लगाएको छ।

गुणस्तर भन्दा कम गुणस्तरको डिएपी मल आपूर्ति गर्ने आपूर्तिकर्ता जोशी विज हाउस लिमिटेडका कार्यकारी निर्देशक विनित जोशीउपर पनि उक्त मुल्य बराबरको भ्रष्टाचार मुद्दा लगाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस