पौष ९, काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन जोगाउनकै लागि मन्त्रिमण्डल विस्तार गरिएको बताउनुभएको छ । मन्त्रिमण्डल विस्तार गरेर १८ सदस्यीय बनाउनुभएका मुख्यमन्त्री पाण्डेले मन्त्रिमण्डल विस्तारको औचित्य पुष्टि हुनेगरी एक डेढ महिनामा नै काम गरेर देखाउने दावी गर्नुभएको छ ।
उहाँले संविधान अनुसार वागमती प्रदेशमा २२ जनासम्म मन्त्रीहरु बनाउन सकिने भएता पनि अब मन्त्रीपरिषद् विस्तार नहुने विश्वास दिलाउनुभयो । प्रदेशदेखि केन्द्रसम्म गठबन्धन जोगाएर जानुपर्ने भएकाले मन्त्रिमण्डल विस्तारको वाध्यात्मक परिस्थिति आइलागेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले अहिले प्रदेशमा गठबन्धन सरकार रहेको छ र त्यसमा एकीकृत समाजवादी सानो शक्ति भएकाले पनि सबै कुरा आफैले सोचे अनुसार नहुने भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘गठबन्धनका ‘गठबन्धनको सरकार छ, गठबन्धनमा तीनवटा शक्तिमध्ये हामी अलि सानो छौं । मिलेर नै जानु पर्योु, प्रदेशदेखि केन्द्रसम्मको गठबन्धन जोगाएरै जानु पर्यो ।
अहिले हेर्दा मन्त्रालयको संख्या धेरै भएजस्तो लाग्न सक्छ । म तपाईंलाई एक डेढ महिनाभित्र मन्त्रालय बढाएको पुष्टि हुनेगरी काम गरेर देखाउँछु । अब अरु मन्त्रालय बढ्दैनन् । संविधानअनुसार २२ वटासम्म मन्त्रालय बनाउन पाइन्छ तर यो अन्तिम हो । यसपाली हामीले समावेशी ढंगले मन्त्रीमण्डल विस्तार गरेका छौं । चेपाङ समुदायबाट पहिलोपटक मन्त्रिपरिषद्मा प्रतिनिधित्व भएको । दलित आएका छन्, द्धन्दपीडित आएका छन्, चार चारजना महिलाहरु छन् । सकरात्मक पाटो पनि छ नि ।’