मंसिर २७, रसुवा । कालिका बुक्स एण्ड स्टेसनरीले एलाईड पब्लिकेसन र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघसँग समन्वय गर्दै रसुवाका तीन विद्यालयलाई पाठ्यपुस्तक, मास्क र सेनिटाइजर हस्तान्तरण गरेको छ ।

रसुवाको कालिका गाउँपालिकाको राम्चेमा रहेको सेतीभूमे माविलाई २ लाख ३० हजार ७ सय ७० रुपैयाँ बराबरको पाठ्यपुस्तक, उत्तरगया गाउँपालिकाको भलायडाँडामा रहेको नवजिवय माविलाई १ जर्किन सेनिटाइजर र १ हजार प्रति मास्क र नौकुण्ड गाउँपालिकाको सस्र्युुमा रहेको गोसाइँकुण्ड माविलाई ५ लिटर सेनिटाइजर र २० हजार रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा कालिका बुक्स एण्ड स्टेसनरीका संचालक तथा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका प्रदेश सदस्य कुमार लामिछानेले ग्रामिण भेगका विद्यार्थीलाई अध्ययनमा रूची जगाउन साथै रूची भएका विद्यार्थीहरू पाठ्यपुस्तक अभावमा रहनु नपरोस् भन्दै पाठ्यपुस्तक प्रदान गरिएको बताउनुभयो ।
पुस्तक हस्तान्तरण पश्चात सेतीभूमे माविका प्रधानाध्यापक देबेन्द्र राज देवकोटाले कुमार लामिछाने, एलाइड पब्लिकेसनका अध्यक्ष संजिव रत्याल, प्रवन्ध निर्देशक सन्तोष हरि न्यौपाने, बजार व्यवस्थापक विनोद राज उपाध्याय तथा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका प्रदेश अध्यक्ष नारायण कुमार श्रेष्ठ लगायतलाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कालिका गाउँपालिका १ का वडाध्यक्ष मालफूर्पा तमाङले विद्यालयको पुस्तकालयमा नयाँ पुस्तक थपिनुले विद्यर्थीको अध्ययनमा रूची बढाउन सहयोग पुग्ने भन्दै सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।