• २०८३ बैशाख २७ गते आइतवार

हामी मुलुकमा नियन्त्रित अराजकता ल्याउन दिँदैनौं : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २४, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताउनुभएको छ । बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आज आयोजित एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई कार्यक्रममा उहाँले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पार्नुभयो । उहाँले एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने भनाइ राख्नुभयो ।

अध्यक्ष ओलीले पार्टीले मात्र राष्ट्रिय र एकता जोगाउने जिकिर गर्नुभयो । “राष्ट्रिय एकता जोगाउन राष्ट्रिय एजेण्डा, विचार दृष्टिकोण र उद्देश्य हुनुपर्दछ” उहाँले भन्नुभयो, “राष्ट्रिय समस्या पहिचान नगरी राष्ट्रिय र एकता जोगाउन सकिन्न ।”

उहाँले कुनै कमिटीमा छानेर नेता हुने भ्रम पनि नराख्न आग्रह गर्नुभयो । “पार्टी चोइटिएपछि पार्टी अध्यक्ष भइहालिन्छ । अध्यक्ष, उपाध्यक्षजस्ता पद प्राप्त गर्ने कुरा ठूला होइनन्” उहाँले भन्नुभयो, “नेताको आनीबानी, अरुसँग गर्ने व्यवहारले पनि नेतालाई स्थापित गर्दछ ।”

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले चितवनमा सम्पन्न भएको पार्टी महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएको बताउनुभयो । भोलिदेखि शुरु हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी रणनीति र कार्यभार बनाउनेसमेत बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस