भदौ १५, नवलपरासी । प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१ बाट १५८ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायर गरेको जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेट UP 56 AH 6189 को मोटरसाइकलमा आउँदै गरेका दुई जनालाई शंका लागेर रोक्न खोज्दा उनीहरू नरोकी भागेका थिए।

त्यसपछि प्रहरीले चेतावनीस्वरूप हवाई फायर गरी दुवैलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्जका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र एक थान मोटरसाइकल बरामद भएको छ। भारतबाट लागूऔषध खरिद गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्दै आएको आशंकामा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाइएको छ।
