• २०८३ जेष्ठ १७ गते आइतवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १६ मिनेट

जेठ १७, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल–भारत सीमा बारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेको भनाइबारे परराष्ट्र मन्त्रालयले आधिकारिक स्पष्टिकरण दिएको छ । मन्त्रालयका अनुसार नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालन गरेको विषयमा नेपाल सरकारको आधिकारिक धारणा यसअघि नै गत वैशाख २० गते स्पष्ट पारिसकिएको उल्लेख गर्दै यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोटमार्फत नै प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै पक्षले सीमा विवादलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्ने प्रतिबद्धता दोहोर्‍याएको उल्लेख छ । नेपाल र भारतबीच सदियौँ पुरानो खुला सीमा रहेको र नेपालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा निर्धारित भएको मन्त्रालयले स्मरण गराएको छ । सुस्ता, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रका केही भागमा अझै सीमा नक्साङ्कन पूरा नभएको तथा कतिपय स्थानमा दशगजा क्षेत्रको अतिक्रमण र सीमापार भोगचलनको समस्या रहेको पनि स्पष्ट पारिएको छ । प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्रको अतिक्रमण तथा सीमापार भोगचलनसँग सम्बन्धित रहेको मन्त्रालयको भनाइ छ । नदी सीमाना भएका क्षेत्रमा स्थिर सीमा सिद्धान्तका कारण एक देशको भूभाग अर्को देशतर्फ पर्ने र त्यस क्षेत्रमा नागरिकले खेतीपाती तथा बसोबास गर्ने अवस्था रहेको पनि उल्लेख गरिएको छ । सीमा व्यवस्थापनलाई व्यवस्थित र वैज्ञानिक बनाउन सीमा स्तम्भको निर्माण तथा मर्मत, दशगजा क्षेत्रको अनुगमन र सीमापार भोगचलनको तथ्याङ्क संकलनका लागि दुवै देशका प्राविधिक संयन्त्र सक्रिय रहेको मन्त्रालयले जनाएको छ । लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम पुनः सुरु भई संयुक्त रूपमा तथ्याङ्क संकलन भइरहेको पनि जानकारी दिइएको छ । प्राविधिक अध्ययनका क्रममा केही स्थानमा नेपालको उपयोगमा रहेको जग्गा भारततर्फ र भारतको उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्ने सम्भावना देखिएको मन्त्रालयले उल्लेख गरेको छ । यही प्राविधिक यथार्थकै आधारमा प्रधानमन्त्रीले संसदमा धारणा राखेको परराष्ट्रले उल्लेख गरेको छ । नेपालले ऐतिहासिक सन्धि–सम्झौता र नक्साका आधारमा सीमा समस्या समाधान गर्न कूटनीतिक वार्ताप्रति निरन्तर प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२- नेपाल मामिलाका जानकार भारतीय प्रोफेसर एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न खोजेको भन्दै यो प्रतिउत्पादक हुने टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै मुनीले प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा समस्या एकतर्फी नभएको भन्दै खुलेर स्वीकार गरेकोमा उनको साहसिक कदमका लागि बधाई दिनुपर्ने भएपनि यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भने उल्टै प्रतिउत्पादक हुने टिप्पणी गरेका छन् । उनले भनेका छन्- ‘प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा समस्या एकतर्फी नभएको भन्दै खुलेर स्वीकार गरेकोमा उनलाई साहसिक कदमका लागि बधाई दिनुपर्छ । भारतसँगको सीमा विवाद सधैं एकतर्फी नभएको र सुस्तामा नदीको धार परिवर्तनका कारण भारतीय भूमि नेपालमा रहेको छ । तर यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने उनको प्रयास भने उल्टै प्रतिउत्पादक हुन्छ ।’ आइतबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा लिपुलेकको विषयमा भारत, चीन र इङल्याण्डसँग समेत कुरा गर्ने बताएका थिए ।

३- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर टिप्पणी गर्दै संवेदनशील कूटनीतिक विषयमा जिम्मेवार र सावधानीपूर्वक बोल्नुपर्ने बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भनेको विषयमा शर्माले टिप्पणी गर्दै देशको प्रधानमन्त्रीले बोल्नु अघि धेरै पटक सोचेर मात्र बोल्नुपर्ने बताउदै कूटनीतिक रूपमा संवेदनशील प्रश्नमा संयम र परिपक्वता अझ आवश्यक हुने बताएका हुन् । शर्माले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै ‘सरकार बालेन’को मत मुख्य हो कि ‘व्यक्ति बालेन’को मत मुख्य भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताएका छन् । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो भन्ने प्रश्न पनि गरेका छन् । उनले सीमा मिचिएको हो कि मिचाइमा परिएको हो भन्ने विषयमा देश थप विभाजित हुन थालेको संकेत गर्दै यस विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।

४- नेपाली महिला फुटबल टिमले साफ महिला च्याम्पियनसिपको समूह चरणमा लगातार दोस्रो जित हासिल गरेको छ । भारतको गोवामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा खेलको पहिलो हाफमा रश्मि कुमारी घिसिङ र दोस्रो हाफको ६२औं मिनेटमा रेनुका नगरकोटीले एक एक गोल गरेका थिए । नेपालले दुई जितपछि समुह ए मा २ खेलमा ६ अंकसहित समुह विजेता भएर समिफाइनलमा पुगेको छ । त्यस्तै श्रीलंका भने दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने भुटान समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । अब नेपालले समुह बीको उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ । समुह बी बाट भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् र समुह विजेता र उपविजेताको टुंगो दुवैबीच आजै हुने समुह चरणको अन्तिम खेलपछि टुंगो लाग्ने छ ।

५- राप्रपा विभाजन हुने निश्चित भएको छ । महामन्त्री डा. धवलशमशेर राणाले विश्वसनीय राष्ट्र्वादी शक्ति निर्माण गर्ने बताउदै अगाडी बढ्ने स्पष्ट गरेका छन् । उनले आफुले विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गरेको तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भएको उल्लेख गर्दै राप्रपाको बाटो सहि लागे त्यहि बस्न र नलागे नयाँ राष्ट्रवादी शक्ति निर्माणमा लाग्न अपिल समेत गरेका छन् ।

६- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमताअनुसार ल्याएको दाबी गरेका छन् । बजेट बारे छलफल गर्न आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. वाग्लेले बजेटको आकार ठूलो नभई कुल गार्हस्थ्य उत्पादनको करिब २८.५ प्रतिशत मात्र रहेको स्पष्ट गर्दै राज्यको क्षमता अनुसारको बजेट ल्याइएको दाबी गरेका हुन् । उनले प्रारम्भमा २५ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा भए पनि अन्ततः करिब २१ खर्ब रुपैयाँ हाराहारीमा सीमित गरिएको बताउदै पछिल्ला वर्षमा ३० प्रतिशतभन्दा माथि पुगेको बजेट आकारको प्रवृत्ति तोडिएको बताए । अर्थमन्त्री डा. वाग्लेले भूकम्प र कोरोना महामारीका कारण सार्वजनिक ऋण बढेर ४२–४३ प्रतिशतसम्म पुगेको स्वीकार गर्दै हाल ऋण व्यवस्थापनमा सुधार भइरहेको बताए । उनले आगामी वर्ष ४१० अर्ब रुपैयाँ आन्तरिक र २४७ अर्ब रुपैयाँ बाह्य ऋण लिइने र ७२ अर्ब रुपैयाँ वैदेशिक ऋण भुक्तानी गरिने बताए । तलब वृद्धिबारे उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारी कर्मचारीको तलब वृद्धि प्रभावकारी रूपमा २१ प्रतिशत पुगेको दाबी गरे । साथै, आगामी वर्षदेखि ऋणको हिसाब गर्ने नयाँ विधिबारे नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिए ।

७- नेकपाका सांसद वर्षमान पुनले संसदलाई अझ उत्तरदायी र मर्यादित बनाउन सभामुखलाई सुझाव दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले नियम ५६ नयाँ व्यवस्था भएको बताउदै संसदलाई उत्तरदायी र मर्यादित बनाउन सभामुखले भूमिका खेल्नुपर्ने बताएका हुन् । उनले भने- ‘२०६४ मा पनि थिएन, ०७० मा पनि थिएन, ०७४ मा पनि थिएन । किन राखियो भन्दा सदनलाई जीवन्त बनाउने उद्देश्यले । मन्त्रीहरूसँग अन्तरक्रिया त भइरहन्थ्यो तर सभाको मुख्य नेता प्रधानमन्त्री नै हो । सरकार के गरिरहेको छ भन्ने विषयमा प्रत्यक्ष संवाद हुँदा सदन जीवन्त पनि हुन्छ र लोकतान्त्रिक पनि हुन्छ ।’ सांसद पुनले नियम कार्यान्वयनलाई सत्ता पक्ष वा प्रतिपक्षले इगोका रूपमा नलिन पनि आग्रह गरे । उनले सभामुखलाई कार्यव्यवस्था परामर्श समितिमा समीक्षा गर्न सुझाव दिँदै संसदलाई मर्यादित र नियमअनुसार अघि बढाउनुपर्ने बताए । उनले भने- ‘प्रधानमन्त्री आउनुभयो, यो महिनाको नियमावली कार्यान्वयन भयो। संसद सफल भयो, अभ्यास पनि भयो। अब नियमावलीका व्यवस्थालाई नियमसंगत रूपमा नै अगाडि बढाऔं । सांसद पुनले संसद झगडा गर्ने ठाउँ नभएर आफ्ना असहमति राख्ने ठाउँ भएको भन्दै कसैप्रति व्यक्तिगत रिसिइबी नभएको बताए ।

८- इजरायलले लेबनानको ब्यूफोर्ट किल्लामाथि कब्जा गरेको छ । इजरायली सेनाले ब्यूफोर्ट किल्लामाथि नियन्त्रण स्थापित गर्नु ठूलो रणनीतिक सफलता भएको बताएको छ । इजरायली सेनाले लितानी नदी पार गर्दै आफ्नो सैन्य अभियानको दायरा विस्तार गरेको थियो । सोही अभियानअन्तर्गत ब्यूफोर्ट किल्लामा नियन्त्रण कायम गर्न सफल भएको दाबी गरिएको छ । इजरायलले हिजबुल्लाहलाई कमजोर बनाउने तथा उत्तरी सीमाको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ सैन्य कारबाहीलाई निरन्तरता दिने बताएको छ । ब्यूफोर्ट किल्ला दक्षिणी लेबनानमा अवस्थित एक ऐतिहासिक पहाडी दुर्ग हो । करिब ७०० मिटर अग्लो पहाडको टुप्पोमा रहेको यस किल्लाबाट वरपरका विशाल क्षेत्रको निगरानी गर्न सकिन्छ। यही रणनीतिक महत्वका कारण शताब्दीयौंदेखि यो किल्ला विभिन्न युद्ध र संघर्षको केन्द्र बन्दै आएको छ । इतिहासअनुसार १२औँ शताब्दीमा क्रुसेडर सैनिकहरूले यस किल्लाको निर्माण गरेका थिए। निर्माणका बेला यसको नाम ‘बेल फोर्ट’ अर्थात् ‘सुन्दर किल्ला’ राखिएको थियो । पछि यही नाम परिवर्तन हुँदै ब्यूफोर्ट किल्लाका रूपमा परिचित भयो । सन् ११९० मा मुस्लिम शासक सालादीनले उक्त किल्लामाथि नियन्त्रण स्थापित गरेका थिए। त्यसयता पनि विभिन्न शक्ति र शासकबीच किल्लाको स्वामित्वका लागि संघर्ष हुँदै आएको इतिहास छ । आधुनिक समयमा पनि ब्यूफोर्ट किल्ला द्वन्द्वको महत्वपूर्ण केन्द्र बनेको छ। सन् १९८२ मा इजरायलले लेबनानमाथि गरेको आक्रमणका क्रममा यहाँ भीषण युद्ध भएको थियो। त्यसपछि लामो समयसम्म इजरायली सेना तथा उसका सहयोगी बलहरूको नियन्त्रणमा यो क्षेत्र रहेको थियो । सन् २००० मा इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गरेपछि ब्यूफोर्ट किल्ला पुनः लेबनानको नियन्त्रणमा आएको थियो । हाल पनि यो किल्ला दक्षिणी लेबनानको रणनीतिक तथा ऐतिहासिक महत्व बोकेको स्थलका रूपमा चिनिन्छ ।

९- नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापा नेपालके भारतको कुन कुन जग्गा मिचेको च्ग्ग त्यस बारे जानकारी दिन माग गरेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको प्रतिनिधि सभाको बैठक नेपालले पनि भारतको भूमि मिचेको बताएकोप्रति सांसद थापाले आपत्ति जनाउदै नेपालले मिचेको जग्गाको विवरण माग गरेकी हुन् । उनले भनेकी छन्- प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिच्यो भन्नु भयो, यो कहाँ निर हो हामीलाई जानकारी गराउनु पर्यो । यो गम्भीर र आपत्ति जनक विषय हो । प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा सहि हो भने राख्नु पर्यो हैन भने रेकर्डबाट हटाउन माग गर्दछु ।’ प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री शाहले आफु प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतको भूमि मिचेको थाहा पाएको बताउदै लिपुलेकसहितका सबै विषय भारतसँग छलफल गरेर समाधान गर्ने बताएको विषय विवादित बनेको छ ।

१०- प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिदै आफु प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतको भूमि मिचेको थाहा पाएको बताउदै लिपुलेकसहितका सबै विषय भारतसँग छलफल गरेर समाधान गर्ने बताए । श्रम संस्कृति पार्टीका आरेन राईले लिपुलेक लिम्पियाधुरा र कालापानीको विषयमा सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री बालेनले दुवै देशले अध्ययन गरेर साथीकै हिसाबमा सबै विषयमा कुरा गर्ने स्पष्ट गरेका छन् ।

११- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएका छन् । प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएर सरकारले काम गरिरहेको बताएका हुन् । उनले यसको अर्थ विकासको काम नगर्ने भन्ने नभएको बताउदै आफुहरुको ध्यान भ्रष्टाचारलाई हटाउनेमा केन्द्रित रहेको बताए । उनले भने- ‘पहिलो बर्ष देशलाई पुर्णरुपमा सुशासन तर्फ लैजाने, बेथितिलाई हटाउने, बलियो जरा बनाएर रहेको भ्रष्टाचारलाई निर्मुल गर्नेमा सरकारको ध्यान केन्द्रित छ ।’

१२- युइएफए सुपर कपमा पिएसजी र एस्टन भिल्ला खेल्ने भएका छन् । च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेता खेल्ने सुपर कपमा पिएसजी र एस्टन भिल्ला आगामी अगस्त १२ मा खेल्ने भएका हुन् । यो खेल अस्ट्रियाको साल्जबर्गस्थित आरबी एरिनामा हुने भएको छ । यस बर्ष पिएसजीले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने एस्टन भिल्लाले युरोपा लिग जितेको छ । अहिलेसम्म युइएफए सुपर कपको उपाधि सबै भन्दा बढी रियल म्याड्रिडले ६ पटक जितेको छ । त्यस्तै बार्सिलोना र एसी मिलानले ५-५ पटक जितेका छन् भने लिभरपुलले ४ पटक यो उपाधि जितेका छन् । त्यस्तै पिएसजीले पहिलो पटक गत बर्ष यो उपाधि जितेको थियो ।

१३- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ। परिसंघले बजेटले आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल वृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणतर्फ महत्वपूर्ण आधार तयार गरेको जनाएको छ। आइतबार जारी विज्ञप्तिमा सिबिफिनले पछिल्लो समय सुस्त बनेको अर्थतन्त्र, निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्तामा देखिएको ‘पर्ख र हेर’ प्रवृत्ति, कर्जा विस्तारमा आएको सुस्तता तथा बढ्दो खराब कर्जाजस्ता चुनौतीबीच प्रस्तुत बजेटले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने आशा जगाएको उल्लेख गरेको छ । परिसंघले कर प्रणालीमा गरिएको सुधार, उद्योग व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि तथा पूर्वाधार विकासमा जोड, ऊर्जा क्षेत्रलाई प्राथमिकता र लगानीमैत्री वातावरण निर्माणका नीतिलाई सकारात्मक कदमका रूपमा लिएको छ। विशेषगरी बैंकिङ क्षेत्रमा चुनौतीका रूपमा देखिएको खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारको घोषणा दूरदर्शी, समयानुकूल र ऐतिहासिक निर्णय भएको सिबिफिनको भनाइ छ । बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ। व्यक्तिगत आयकर छुटको सीमा वृद्धि, करका दर पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालनका व्यवस्थाले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि परिसंघले व्यक्त गरेको छ । सिबिफिनले बजेटका व्यवस्था कार्यान्वयन भए आन्तरिक तथा बाह्य लगानी विस्तार, उद्यमशीलताको विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा निजी क्षेत्रको पुनर्जागरणमा सहयोग पुग्ने जनाएको छ। साथै उच्च आर्थिक आत्मविश्वास निर्माण गर्दै अर्थतन्त्रलाई दिगो वृद्धितर्फ अघि बढाउन बजेटले महत्वपूर्ण आधार तयार गरेको उल्लेख गरेको छ। परिसंघले बजेटमा समावेश जनमुखी तथा विकासमुखी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएको छ। आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारसँग निकट सहकार्य गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको सिबिफिनले जनाएको छ ।

१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको २० हजार ५ सयले बढेर तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९० हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले बढेर ५३४५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५०४० मा कारोबार भएको थियो ।

१५- नेपाली महिला क्रिकेट टिम एशियन गेम्समा छनौट हुन असफल भएको छ । एशियन गेम्स क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल चीनसँग पराजित भएसँगै एशियन गेम्समा छनौट हुन असफल भएको हो । चीनले नेपाललाई ५ विकेटले पराजित गर्दै एशियन गेम्समा छनौट भएको छ ।बर्षाले प्रभावित खेलमा चीनले ७ ओभरमा ४३ रनको लक्ष्य पाएको थियो । त्यो लक्ष्य चीनले ७ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।

१६- नेपालले चीनविरुद्ध फराकिलो अन्तरको जित निकालेको छ । एशियन गेम्सको पुरुष क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गतको आइतबार सम्पन्न खेलमा नेपालले चीनलाई २२१ रन अन्तरले पराजित गरेको हो । नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछाएको चीनले १९.२ ओभरमा ९२ रन बनाएर अल आउट भएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले १२९ रनको शतकीय पारी खेलेका थिए । भुर्तेलले ४३ बलमा १२९ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ४७ बलमा अविजित ८५ रन बनाए भने रोहित पौडेलले २१ बलमा अविजित ६९ रन बनाएका थिए । त्यस्तै आसिफ सेख ११ रन बनाएर आउट भएका थिए । यो टी-२० अन्तराष्ट्रिय क्रिकेटमा बनेको तेस्रो ठुलो टोटल हो । यसअघि जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो भने नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । यो जितपछि अब नेपालले अर्को खेल जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ ।टी-२० फर्म्याटमा खेलिने यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ । एशियन गेम्समा कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

१७- अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स काठमाडौँ आइपुगेकी छन् । भारतको राजधानी नयाँ दिल्लीबाट शनिबार साझ काठमाडौं आएकी हुन् । रोजर्सले नेपालस्थित अमेरिकी राजदूतावासले आज आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिको रुपमा सहभागी हुने बताइएको छ । तीन दिने भ्रमणको क्रममा रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग भेट्ने कार्यक्रम रहेको छ । बालेन सरकार गठनपछिको अमेरिकाबाट भएको यो तेस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि वैशाख ८ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुर र वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवम् भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले नेपाल भ्रमण गरेका थिए।

१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार बनाउने विषयमा सहमति जनाएको दाबी गरेका छन् । उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिनु आफ्नो प्रमुख लक्ष्य रहेको पनि दोहोर्‍याए । एक अन्तर्वार्तामा ट्रम्पले सुरुमा इरानले आणविक हतियार नबनाउने सहमति जनाएको र त्यसपछि किन्ने कि नकिन्ने भन्ने प्रश्नमा पनि इरानले हतियार नकिन्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन्। ट्रम्पले इरानसँग सम्झौता गर्न आफूलाई कुनै हतार नभएको भन्दै अमेरिका उत्कृष्ट सम्झौताको पक्षमा रहेको बताए । उनले सम्झौता नभएमा सैन्य उपाय अपनाएर समस्या अन्त्य गर्न सकिने चेतावनीसमेत दिएका छन्। उनका अनुसार सम्झौता भएमा धेरै मानिसको ज्यान जोगिनेछ र हस्ताक्षर भएसँगै होर्मुज जलडमरूमध्य तत्काल खुल्न सक्नेछ । अमेरिका बिस्तारै आफ्ना सर्तहरू स्वीकार गराउन सफल भइरहेको दाबी पनि उनले गरे । यसैबीच, अमेरिकी रक्षा मन्त्री पेट हेगसेथले सिङ्गापुरमा आयोजित एक शिखर सम्मेलनमा इरानसँगको वार्ता असफल भए अमेरिका पुनः सैन्य कारबाही गर्न तयार रहेको चेतावनी दिएका छन् । यो चेतावनी अमेरिका र इरानबीच प्रस्तावित सम्झौतामा रहेका मतभेद हटाउने प्रयास भइरहेका बेला आएको हो । प्रस्तावअनुसार अप्रिलको सुरुआतमा भएको अस्थायी युद्धविरामलाई थप ६० दिन लम्ब्याउने र स्थायी सम्झौताको आधार तयार गर्ने योजना छ । ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा बसेको बैठकपछि प्रस्तावबारे अन्तिम निर्णय लिने बताएका थिए । तर करिब दुई घण्टा चलेको बैठकपछि निर्णय स्थगित गरिएको थियो। उता इरानले भने अहिलेसम्म कुनै समयसीमा घोषणा गरेको छैन । इरानका प्रमुख वार्ताकार मोहमद बाघर घालीबाफले सामाजिक सञ्जालमार्फत अमेरिकामाथि विश्वास नरहेको बताएका छन् । उनले अमेरिका स्वयंले ठोस कदम नचालेसम्म इरानले पनि कुनै नयाँ कदम नचाल्ने स्पष्ट पारेका छन् । साथै, हाल कुनै हतार नरहेको उनको भनाइ छ ।

१९- नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि भ्याट लगाउने निर्णय अविवेकी निर्णय भएको टिप्पणी गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ। आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ? भन्दै प्रश्न गरेका छन् । उनले नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक हो। स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको बताएका छन् । उनले पेट्रोलियम प्रोडक्टको अभाव र मुल्यवृद्धि भएको समयमा ग्रिन इनर्जीलाई प्रवर्धन गर्नुपर्नेमा विद्युतिय गाडीको प्रयोगलाई समेत दुरुत्साहन गर्नेगरी करको भार थोपर्ने काम समेत बजेट मार्फत गरिएको आरोप लगाएका छन् । उनले यदि बजेटको आकार बढाउने नाममा आय श्रोत देखाउन यस्तो निर्णय हुनपुगेको हो भने सरकारले तत्काल आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सरकार आफैले नाफा लिएर विक्रि गरेको विद्युत खपत वृद्धिहुदा भ्याट लागएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा त्यसको अधिकतम् उपयोग गर्न प्रेरित गर्नु पर्ने बताएका छन् ।

२०- पिएसजीले युइएफए च्याम्पियन्स लिगको उपाधि दिएको छ । हंगेरीको बुडापेष्टमा सम्पन्न फाइनलमा पिएसजीले आर्सनललाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । यसअघि ९० मिनेटसम्म दुवैतर्फबाट १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलिएको थियो । अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । आर्सनलका लागि खेलको छैटौं मिनेटमा काइ हाभार्टले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने पिएसजीका लागि खेलको ६५औं मिनेटमा ओसमान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । यसअघि २००६ मा उपविजेता बने आर्सनल दोस्रो पटक उपाधि नजिक पुगेर उपविजेतामै चित्त बुझाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस