• २०८३ कार्तिक १४ गते शुक्रवार

बारामा डिजेल ट्यांकर, हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब १२ बजे नेपाल आयल निगमको डिपो नजिक दुर्घटना भएको हो ।

अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको हाइस ठोक्किएको थियो । त्यसपछि हाइसको पछाडि धरानबाट हेटौँडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्यांकर चालक, हाइस चालक, मोटरसाइकल चालक र हाइसमा सवार यात्रु गरी १० जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको छ ।

घाइतेहरूको अमलेखगन्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ ।

दुर्घटनापछि अवरुद्ध सडक सुरुमा एकतर्फी सञ्चालन गरिएको थियो । दिउँसो १ः५५ बजेदेखि भने सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अमलेखगन्जमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस