• २०८३ जेष्ठ १६ गते शनिवार

कमल थापा भन्छन्- पार्टीमा नेतृत्वले सम्मान र अपनत्वको वातावरण बनाउनुपर्छ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गर्दै विगतका तितामीठा अनुभवलाई बिर्सेर आफूहरू पार्टीमा आबद्ध भएको बताएका छन् ।

उनले राजनीतिक यात्रामा चुनावी हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै त्यसबाट विचलित वा निराश हुन आवश्यक नरहेको बताएका छन् । राप्रपाको भविष्य उज्ज्वल रहेको दाबी गर्दै उनले पार्टीले अंगालेका विचार र सिद्धान्त कहिल्यै समाप्त नहुने बताएका छन् ।

थापाले पार्टीभित्र केही समस्या र विकृतिहरू रहेको स्वीकार गर्दै तिनको समाधान पार्टीभित्रै खोज्नुपर्ने धारणा राखेका छन् । उनले निकट भविष्यमा हुने महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार पार्टी नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने, सबै सदस्यमा सम्मान र अपनत्वको भावना कायम हुने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ ।

पार्टीबाट अलग हुने वा निष्क्रिय बस्ने मनस्थिति नराख्न कार्यकर्ता र समर्थकहरूलाई आग्रह गर्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सबै राष्ट्रवादी नेपालीहरूको साझा शक्ति तथा बलियो राष्ट्रिय विकल्पका रूपमा स्थापित गर्न एकजुट हुन आह्वान गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस