सन्ते र बसन्ती जीवनको उत्तरार्धमा पुगेका एक वृद्ध दम्पती थिए । जीवनका उकाली–ओराली, दुःख–सुख, आँसु–हाँसो र अनेकौँ सङ्घर्ष पार गर्दै उनीहरू बुढेसकालमा आइपुगेका थिए । जवानीमा अरूको दुःख देख्न नसक्ने सन्ते र कसैको आँसु पुछ्न पाए आफूलाई भाग्यमानी ठान्ने बसन्तीको एउटै सपना थियो– जीवनको अन्तिम समयसम्म एकअर्काको सहारा बनेर बाँच्ने ।

उनीहरू गाउँबाट सहर पसे । सोचेका थिए, सहरमा अवसर हुन्छ, छोराछोरीको भविष्य राम्रो हुन्छ, समाजमा इज्जत हुन्छ र बुढेसकालमा सुखसँग जीवन बिताउन पाइन्छ । तर सहरको भीडभित्र उनीहरू बिस्तारै एक्लिँदै गए । घर अगाडि छिमेकी थिए, घर वरिपरि मानिसहरूको आवतजावत थियो, तर कसैलाई कसैको वास्ता थिएन । एउटै घरमा वर्षौं बिताए पनि छिमेकीको दुःख, पीडा र समस्याबारे कसैलाई चासो थिएन ।
सन्ते भने अलि फरक स्वभावका थिए । कसैलाई समस्या पर्दा सकेको सहयोग गर्थे । बिरामी हुँदा अस्पताल पुर्याउँथे, आर्थिक समस्या पर्दा ऋण सापटी दिन्थे, दुःख पर्दा साथ दिन्थे । आफन्त हुन् वा छिमेकी, कसैलाई खाली हात फर्काउँदैनथे । बसन्ती पनि त्यस्तै थिइन् । घरमा जे पाकेको छ, छिमेकीलाई बाँडेर खानुपर्छ भन्ने उनको मान्यता थियो ।
तर विडम्बना ! उनीहरूले अरूका लागि जति गरे पनि आफ्नो पालोमा कसैले सम्झिएनन् । सहयोग गर्दा सबै आफ्ना हुन्थे, सहयोग गर्न नसक्दा पराइ बन्थे । उनीहरूले अरूको घरमा खुसी ल्याउन आफ्नो खुसी बिर्सिए, तर आफ्नो घरमा आँधी आउँदा सान्त्वना दिने एउटा काँध पनि भेटेनन् ।
कहिलेकाहीँ बसन्ती सन्तेलाई भन्थिन्, “हामीले जिन्दगीभरि अरूका लागि मात्रै बाँच्यौँ कि क्या हो ? कसैको दुःखमा पुग्यौँ, कसैको खुसीमा रमायौँ, कसैको आँसु पुछ्यौँ । तर आज हाम्रो मनको पीडा बुझिदिने कोही छैन । आखिर हामीले के गल्ती गर्यौँ र ?”
सन्ते लामो सास फेर्दै भन्थे, “बसन्ती, मान्छेले अरूलाई चिन्यो, तर आफूलाई चिन्न सकेन । हामीले पनि सायद मानिस चिन्न गल्ती गर्यौँ सायद ।”
उनीहरूको घरमा कहिलेकाहीँ आफन्त आउँथे । मीठो बोल्थे, आफ्नो समस्या सुनाउँथे, सहयोग माग्थे । सन्ते र बसन्तीले सकेसम्म सहयोग गर्थे । तर उनीहरूको मनको कुरा सुन्ने फुर्सद कसैलाई थिएन । उनीहरू बिस्तारै आफ्नै घरभित्र अपरिचित जस्तै हुन थाले । वरिपरि मानिसहरूको बस्ती थियो, तर उनीहरूको पीडा बुझ्ने कोही थिएन ।
समय बित्दै गयो । बुढेसकालले शरीर कमजोर बनाउँदै लग्यो । सन्तेको स्वास्थ्य बिग्रँदै गयो । बसन्ती पनि रोग र उमेरसँग लडिरहेकी थिइन् । आखिर अहिलेको खान्की र सहरको बान्कीमा रमाउँदा जीवनले फेरेको कोल्टे थाहै भएन उनीहरुलाई । एक दिन सन्तेले बसन्तीको हात समाउँदै भने, “हामीले जीवनभरि अरूलाई साथ दियौँ । तर आज मलाई डर लाग्छ, भोलि तिमीलाई केही भयो भने तिम्रो साथमा को होला ?”
बसन्तीका आँखाबाट आँसु झरे । उनले भनिन्, “मलाई पनि त्यही डर छ । हामीले संसारलाई आफ्नो ठान्यौँ, तर संसारले हामीलाई कहिल्यै आफ्नो ठानेनछ ।”
दुर्भाग्य ! एक दिन सन्तेले संसार छाडे । जीवनभरि अरूको दुःखमा साथ दिने सन्तेको अन्तिम यात्रामा केही मानिस आए, औपचारिकता पूरा गरे र फर्किए । बसन्ती भने श्रीमानको तस्बिर हेर्दै दिनरात आँसु झारिरहिन् । उनको जीवनको आधा हिस्सा हराएको थियो ।
केही समयपछि बसन्ती पनि बिरामी परिन् । छेउमा बसेर पानी दिने, औषधि खुवाउने र मनको कुरा सुनिदिने मान्छे कोही भएन । एक दिन उनले सन्तेको तस्बिर छातीमा टाँस्दै बिस्तारै भनिन्, “सन्ते ! तिमीले त मलाई एक्लै छाडेर गयौ । जीवनभरि अरूको घर उज्यालो बनायौँ, तर हाम्रो घरमा अँध्यारो छाउँदा बत्ती बालिदिने कोही रहेनछ ।”
उनको आवाज विस्तारै बन्द हुँदै गयो । एउटा लामो निः श्वाससँगै बसन्तीले पनि संसारबाट बिदा लिइन् ।
आज उनीहरूको घर छ, तर घरमा बोल्ने आवाज छैन । आँगन छ, तर पाइला टेक्ने मान्छे छैन । भित्तामा तस्बिरहरू छन्, तर ती तस्बिरसँग कुरा गर्ने कोही छैन । उनीहरूले जीवनभरि बाँडेका माया, सहयोग र सद्भावको मूल्य बुझ्ने मानिसहरू उनीहरूको मृत्युपछि मात्रै प्रशंसा गर्न थाले ।
आखिर जीवन के हो ?
जीवन केवल धन कमाउनु, घर बनाउनु, पद प्राप्त गर्नु र अरूलाई उपदेश दिनु मात्रै होइन । जीवन त आफूलाई चिन्नु, आफ्नो व्यवहारले अरूलाई परेको प्रभाव बुझ्नु, परिवारको जिम्मेवारी पूरा गर्नु र छिमेकी तथा समाजसँग मानवीय सम्बन्ध कायम राख्नु पनि हो ।
आफ्नै परिवार सम्हाल्न नसक्ने, आफ्नै जीवनको यथार्थ बुझ्न नसक्ने, छिमेकीको पीडा नदेख्ने र आफन्तको भावना नबुझ्ने मानिसले समाज र देश बदल्ने सपना देख्नु कति अर्थपूर्ण होला ? अरूलाई बदल्नुअघि आफू बदलिन सक्नुपर्छ । नेतृत्व गर्नुअघि जिम्मेवारी बुझ्न सक्नुपर्छ ।
सन्ते र बसन्तीको जीवनले हामीलाई एउटा गम्भीर प्रश्न छाडेर गएको छ– हामी अरूलाई चिन्ने दौडमा कतै आफूलाई नै बिर्सिरहेका त छैनौँ ?
बुझ्न सके जीवन अपार छ, बुझ्न नसके जीवन अभिशाप छ । आफूलाई चिन, आफ्नो परिवारलाई बुझ, छिमेकीको पीडा महसुस गर र अरूको योगदानको सम्मान गर्न सिक । किनकि मानिस मरेपछि उसको घर, सम्पत्ति र पद होइन, उसले बाँडेको माया र गरेको व्यवहार मात्रै सम्झनामा बाँकी रहन्छ । पहिला आफूलाई चिन, अनि अरूलाई चिन्ने कोसिस गर । जीवनको सबैभन्दा ठूलो सत्य यही हो ।