कात्तिक १२, काठमाडौं । इजरायलमा यहुदी र अरब समुदायको सहभागितामा संयुक्त सरकार गठन गर्न माग गर्दै करिब ३०० जनाले प्रदर्शन गरेका छन् । जेरुसेलमको पेरिस स्क्वायर, तेल अभिभको मेसिला पार्क र हाइफाको युनेस्को स्क्वायरमा भेला भएका प्रदर्शनकारीले समावेशी सरकार गठनको माग गरेका हुन् ।

इजरायली दैनिक हारेत्जका अनुसार प्रदर्शनकारीले ‘सबैका लागि स्वतन्त्रता’ र ‘यहुदी–अरब संयुक्त सरकारको पक्षमा’ लेखिएका प्लेकार्ड बोकेका थिए । यसैबीच, इजरायलको संसदीय निर्वाचनको मतगणना जारी रहँदा सरकार गठनको समीकरण अनिश्चित देखिएको छ । द टाइम्स अफ इजरायलले केन्द्रीय निर्वाचन समितिको आंशिक नतिजालाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा रहेको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ ।
स्थानीय समयअनुसार बुधबार राति ११ः३५ बजेसम्मको विवरणमा करिब ९७.५ प्रतिशत मतदान केन्द्रको ९० प्रतिशत मतगणना सम्पन्न भएको जनाइएको छ । विपक्षी खेमामा रहेका यहुदी नेतृत्वका दलले ४८ सिट प्राप्त गरेका छन् । अरब नेतृत्वका दलले भने १९ सिट प्राप्त गरेका छन् ।
इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् । नेतान्याहुको पक्षमा रहेका दलको सिट संख्या बहुमतका लागि आवश्यक ६१ भन्दा कम छ । विपक्षी खेमाका दलसँग संयुक्त रूपमा ६७ सिट भए पनि यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग मिलेर सरकार बनाउन इच्छुक देखिएका छैनन् । यसले विपक्षी पक्षलाई बहुमत जुटाउन कठिन बनाएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा प्रारम्भिक भएकाले अन्तिम मतपरिणामसँगै सिट संख्या परिवर्तन हुन सक्ने जनाएको छ । विशेषगरी दोहोरो खाममा राखिएका मतपत्रको गणना बाँकी रहेकाले अन्तिम परिणाममा फेरबदल हुन सक्ने द टाइम्स अफ इजरायल ले उल्लेख गरेको छ । यस्तो मतपत्रमा सक्रिय सैनिकले खसालेका मतसमेत समावेश हुन्छन् ।
विपक्षी नेता तथा याशार पार्टीका अध्यक्ष गादी आइजेनकोटले निर्वाचन परिणामलाई नेतान्याहु नेतृत्वको सरकारप्रतिको अविश्वासका रूपमा व्याख्या गरेका छन् । उनले सरकार परिवर्तनका लागि आफ्नो प्रयास जारी रहने बताएका छन् ।
‘अक्टोबर ७ को सरकार र सैनिक सेवाबाट बच्ने प्रवृत्तिप्रति जनताले अविश्वास व्यक्त गरेका छन्,’ आइजेनकोटले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । उनले अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध जियोनिस्ट सरकार गठन गर्ने आफ्नो लक्ष्यसमेत दोहो¥याएका छन् ।
यता, वामपन्थी दल द डेमोक्रेट्सका अध्यक्ष याइर गोलानले सरकार गठनका विषयमा विपक्षी दलका नेताहरूसँग छलफल गर्ने बताएका छन् । उनले बिहीबारदेखि विभिन्न दलका नेतासँग भेटवार्ता गर्ने तयारी गरेको जनाए पनि भेट्ने सबै नेताको नाम सार्वजनिक गरेका छैनन् ।
गोलानले याशार पार्टीका अध्यक्ष आइजेनकोट र बियाखादका उपनेता याइर लापिडसहित विपक्षी नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् । जियोनिस्ट विपक्षी दलहरूको चारदलीय समूहमा रहेका नेतामध्ये अरब नेतृत्वका दललाई सरकारमा सहभागी गराउने पक्षमा खुला समर्थन जनाउने उनी एक्ला नेता हुन् । च्यानल १२ सँगको अन्तर्वार्तामा गोलानले आइतबारसम्म सबै सम्बन्धित नेतासँग भेट्ने आशा व्यक्त गरेका छन् । विपक्षी दलहरूबीच साझा उद्देश्य रहेको उल्लेख गर्दै उनले इजरायलका नागरिकमा आशा जगाउनु आफ्नो मुख्य लक्ष्य भएको बताएका छन् ।
गोलानका अनुसार नयाँ सरकार गठन सुरक्षा चुनौतीको सामना गर्न, वर्तमान सरकारले अघि बढाएको विवादास्पद न्यायिक पुनर्संरचना रोक्न र युवा पुस्तामा देशप्रतिको विश्वास पुनःस्थापित गर्न आवश्यक छ । उनका अनुसार देशको भविष्यप्रति युवामा निराशा बढ्दै गएको छ ।
निर्वाचनको प्रारम्भिक नतिजाले नेतान्याहुको पक्षमा बहुमत नदेखाए पनि विपक्षी दलबीचको मतभेदले नयाँ सरकार गठनको बाटो सहज बनाएको छैन । अन्तिम मतगणना र दलहरूबीचको सम्भावित गठबन्धन वार्ताले इजरायलको आगामी सत्ता समीकरण निर्धारण गर्ने देखिएको छ । एएनआई