• २०८३ असोज १४ गते बुधवार

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १३, धनुषा। विभिन्न अपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भई फरार रहेका सातजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धनुषाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित टोलीले खोजतलास गरी पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूविरुद्ध संगठित अपराध, लागुऔषध र चेक अनादरसम्बन्धी मुद्दामा अदालतबाट फैसला भएको थियो । फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका सातमध्ये दुईजनालाई संगठित अपराध मुद्दामा जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनीहरू सजाय र जरिवानाबाट जोगिन फरार रहँदै आएका थिए ।

पक्राउ पर्नेमध्येमा लागुऔषधसम्बन्धी मुद्दामा एकजनालाई एक वर्ष तीन महिना कैद तथा २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । सोही प्रकृतिको अर्को मुद्दामा एकजनालाई दुई महिना कैद र अर्का एकजनालाई एक महिना कैद सजाय तोकिएको थियो ।

यस्तै लागुऔषधकै अर्को मुद्दामा पनि एक महिनाको कैद सजाय तोकिएको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी चेक अनादर मुद्दामा अदालतबाट एक हजार रुपैयाँ जरिवाना तोकिएका एकजना फरार प्रतिवादी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

उनका अनुसार अदालतबाट सजाय तोकिएपछि फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरी टोलीले विभिन्न स्थानमा खोजतलास तथा आवश्यक समन्वय गर्दै आएको उनको भनाई छ ।

पक्राउ परेका सातैजनालाई अदालतको फैसला कार्यान्वयन तथा आवश्यक कानुनी प्रक्रियाका लागि धनुषा जिल्ला अदालतमा बुझाइएको डिएसपी खनालले जानकारी दिएका छन् । अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका व्यक्तिहरूलाई खोजी गरी पक्राउ गर्ने कार्य जारी रहेको जानकारीसमेत उनले दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस