भदौ १३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको ६५ अर्ब ब्यारेलभन्दा बढी प्रमाणित तेल भण्डारको विकास र व्यवस्थापनमा अमेरिकाको बहुमत नियन्त्रण हुने गरी सम्झौता भएको घोषणा गरेका छन् । ट्रम्पले यसलाई ‘ऐतिहासिक’ सम्झौता भन्दै यसबाट अमेरिकी तेल भण्डार दोब्बरभन्दा बढी बढ्ने, तेल आपूर्ति वृद्धि हुने र अमेरिकी नागरिकका लागि पेट्रोलियम पदार्थको मूल्य घट्ने दाबी गरेका छन् ।

ट्रम्पका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेगसेथले भेनेजुएलाको नेतृत्वसँग निजी क्षेत्रको साझेदारीमा सम्झौता गरेका हुन् । उनले सम्झौतामा अमेरिकी करदाताको रकम खर्च नहुने दाबी गरेका छन् । यद्यपि सम्झौताका विस्तृत सर्त, लगानीको संरचना र अमेरिकाले पाउने अधिकारबारे पूर्ण विवरण सार्वजनिक गरिएको छैन ।
भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भने सम्झौताले देशको आर्थिक पुनरुत्थानमा महत्वपूर्ण योगदान पुर्याउने बताएकी छन् । उनका अनुसार सम्झौताअन्तर्गत १७ वटा रणनीतिक तेल क्षेत्रको विकास गरिनेछ । त्यसका लागि १०० अर्ब डलरभन्दा बढी लगानी हुने र राज्यले २०९ अर्ब डलरभन्दा बढी कर प्राप्त गर्ने अनुमान गरिएको छ ।
सम्झौताअनुसार भेनेजुएलामा अनुभवी निजी तेल सञ्चालकसँग स्थापना हुने संयुक्त कम्पनीमा अमेरिकी सरकारको ५५ प्रतिशत नियन्त्रण रहने अमेरिकी अधिकारीले बताएका छन् । तेल क्षेत्र सञ्चालनका लागि १०० वर्षसम्मको अधिकार दिइएको बताइएको छ । तर, वासिङ्टन र काराकासबीच भएको भनिएको सम्झौताको आधिकारिक दस्तावेज अझै सार्वजनिक गरिएको छैन ।
यो सम्झौता भेनेजुएलाको सार्वभौम प्राकृतिक स्रोतमा अमेरिकालाई प्रत्यक्ष भूमिका दिने असामान्य व्यवस्थाका रूपमा हेरिएको छ । यसले भेनेजुएलाको कानुन र संविधानअनुसार चुनौती सामना गर्न सक्ने सम्भावनाबारे पनि प्रश्न उठेका छन् । सम्झौताका वास्तविक कानुनी र आर्थिक सर्त सार्वजनिक भएपछि मात्र यसको प्रभावबारे स्पष्ट हुने देखिन्छ ।
भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको छ । त्यहाँ करिब ३०३ अर्ब ब्यारेल प्रमाणित तेल भण्डार भए पनि सन् १९९० को दशकको अन्त्यमा पुगेको उच्च उत्पादनको तुलनामा अहिले उत्पादन निकै घटेको छ । कमजोर पूर्वाधार, लगानीको अभाव र लामो समयदेखिको आर्थिक संकटका कारण तेल उद्योग प्रभावित हुँदै आएको छ ।
यसअघि ट्रम्पले भेनेजुएलाको तेल उद्योग पुनर्निर्माणका लागि अमेरिकी तेल कम्पनीहरूले कम्तीमा १०० अर्ब डलर लगानी गर्नुपर्ने बताएका थिए । पछिल्लो समय अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य बढेपछि ट्रम्पमाथि घरेलु इन्धन मूल्य घटाउन दबाबसमेत बढेको थियो । यस्तो अवस्थामा भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच बनाउने सम्झौतालाई अमेरिकी ऊर्जा आपूर्ति बढाउने रणनीतिका रूपमा समेत हेरिएको छ ।