वैशाख १६, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गरेकी छन् । बुधबार भएको भेटका क्रममा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्य, युवा सहभागिता, शिक्षा, लैंगिक समानता तथा जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुख अर्यालले प्रतिनिधिसभामा युवाहरूको बढ्दो सहभागितालाई ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउन जोड दिएका थिए । उनले युवाको सक्रिय उपस्थितिले लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाएको पनि बताए।
सो अवसरमा आवासीय संयोजक याहियाले नेपालले युवामुखी संसद गठन गरेर विश्वमै उदाहरण प्रस्तुत गरेको बताइन् । उनले शिक्षा सुधार, लैंगिक समानता र जलवायु परिवर्तनका क्षेत्रमा संयुक्त राष्ट्रसंघ नेपालसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेकी थिइन् ।