कात्तिक ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ६.३२ अंक, फ्लोट इण्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंक बढेको छ।

आज १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ । जलविद्युत उपसमूहको परिसूचक २.०६ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। मंगलबार पाँच अर्ब ७९ करोड रुपैयाँबराबरकोा सेयर कारोबार भएको थियो । आज सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको एक करोड ९३ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज लिबर्टी इनर्जी कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। घलेम्दी हाइड्रोको २८ करोड रुपैयाँ र बुटवल पावर कम्पनीको करिब साढे २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
आज बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ७० रुपैयाँ बढेर ५३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।
बुटवल पावर कम्पनीको सेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ । सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।