• २०८३ कार्तिक १२ गते बुधवार

किसानलाई जै घाँसको बीउ वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
कात्तिक ११, काठमाडौं ।  रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई मङ्गलबार हिउँदे जै घाँसको बीउ वितरण गरिएको छ । पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकले दुवै सहकारी संस्थाका किसानलाई ५०० किलोग्राम जै घाँसको बीउ वितरण गरेको हो । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई ३०० र देउराली दुग्ध उत्पादक सहकारीलाई २०० किलोग्राम बीउ उपलब्ध गराइएको छ । किसानलाई प्रतिव्यक्ति पाँच किलोग्रामका दरले बीउ वितरण गरिएको हो ।
पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा ब्रजकिशोर ठाकुरका अनुसार कार्यालयमा जै घाँसको दुई हजार ५०० किलोग्राम बीउ मौज्दात रहेकामा यसअघि कार्यालयबाटै ५०० किलोग्राम वितरण गरिएको थियो ।
थप ५०० किलोग्राम वितरण गरिएसँगै हालसम्म एक हजार किलोग्राम बीउ वितरण भएको उहाँले बताउनुभयो । किसानको मागअनुसार बीउ वितरण गरिने उल्लेख गर्दै उहाँले आवश्यक परे सहकारीले थप बीउ खरिद गरेर पनि किसानलाई वितरण गर्न सक्ने बताउनुभयो ।
 दूध उत्पादनका लागि पशुपालन गर्दै आएका किसानलाई हिउँदमा हरियो घाँसको अभाव हुन नदिन बीउ वितरण गरिएको ठाकुरले बताउनुभयो ।
जै घाँसबाट एकै सिजनमा तीनदेखि चारपटकसम्म उत्पादन लिन सकिने भएकाले पशुलाई हरियो तथा पोषणयुक्त आहारा उपलब्ध गराउन र दूध उत्पादन बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
असोज–कात्तिक जै घाँस लगाउन उपयुक्त समय हो । प्रोटिनयुक्त जै घाँसले पशुको पोषणमा सुधार ल्याउनुका साथै दूध उत्पादन बढाउन सहयोग पुग्ने भएकाले किसानलाई प्रत्येक वर्ष यसको खेती गर्न उहाँले सुझाव दिनुभएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विदुर कोइरालाका अनुसार सहकारीमा करिब एक हजार १०० सदस्य आबद्ध छन् ।
सहकारीमार्फत दैनिक दूध बिक्री गर्ने किसानको सङ्ख्या करिब ६०० रहेको उहाँले बताउनुभयो । दैनिक दूध बिक्री गर्ने किसानको सङ्ख्या धेरै भएकाले कार्यालयबाट प्राप्त बीउ सबै किसानलाई वितरण गर्न पर्याप्त नभएको अध्यक्ष कोइरालाले बताउनुभयो ।
सहकारीका सातवटा दूध सङ्कलन शाखामार्फत सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले अन्य स्रोतबाट समेत जै घाँसको बीउ व्यवस्थापन गरी आफ्ना किसानलाई वितरण गर्ने योजना रहेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस