असोज १२, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका समस्या समाधानमा गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भदौ १० गते भएको घटनालाई नेपालमा पछिल्लो सय वर्षयताकै ठूलो विपत्तिका रूपमा उल्लेख गरे । उनले उक्त घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । बेपत्ताको खोजी र घाइतेको उपचारलाई प्राथमिकता दिन पनि उनले सरकारसँग आग्रह गरे ।

राईले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै गम्भीर विषयमा सरकारले जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए । उनले सरकारका गतिविधि स्पष्ट र गम्भीर नदेखिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘सरकारलाई हाम्रो सल्लाह छ, यो केटाकेटी खेले जस्तो र लुकीछिपी गरे जस्तो पारा, गतिविधि भइरहेको छ कि, कम्तीमा विषय गम्भीर छ भने सिरियस्ली लाग्नुहोला। नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ, म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यस्तै, मुलुकमा बढ्दो अभाव, भोकमरी तथा आत्मदाहका घटनाप्रति पनि उनले चिन्ता व्यक्त गरे । यस्ता समस्याका कारण सरकार र संसद्प्रति जनतामा नकारात्मक धारणा बन्ने अवस्था आउन नदिन सरकारले समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।
प्रतिपक्षमा रहे पनि जनताका समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको राईले बताए । उनले जनताका आवाजलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे ।