भदौ १२, काठमाडौं । भारत सरकारले नेपालमा बाढीपछि राहत र उद्धारमा थप सहयोग पठाउने भएको छ । शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले पत्रकार सम्मेलन गर्दै बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने जानकारी गराएका हुन् । विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको जैसवालले बताएका छन् । साथै नेपाल सरकारको अनुरोधमा बेलिब्रिज पनि पठाउने तयारी रहेको र बेलिब्रिज चाँडो जडान गर्नका लागि प्राविधिक टोली पनि पठाइने उनले जानकारी दिएका छन् ।

उनले भने-‘नेपालकै अनुरोधमा टनेल रेस्क्यु टिम पठाउदैछौ । त्यसका लागि रेकी टिम अवस्थाको जानकारी लिन र के कस्ता रेस्क्यू सामग्री चाहिन्छ त्यसका लागि पहिला जाने छ । त्यस्तै हामीले स्वास्थ्य टिम पनि पठाउदैछौं । त्यस्तै हामीले प्राविधिकसहित बेलिब्रिज पठाउदैछौं ताकी त्यसलाई छिटो जडान गर्न सकियोस् । एक बेलिब्रिज नेपाल पुगिसकेकोछ ।’
साथै उनले आजै राहत सामाग्रीको तेस्रो विमान आजै नेपाल पठाउने पनि उनले बताएका छन् । आज करिब १२ टन बराबर मानवीय सहायताको राहत सामाग्री पठाउन लागेको उनले जानकारी दिएका छन् । भारतले यसअघि दुई पटक गरेर साढे ४७ टन सामाग्री पठाएको थियो ।
त्यस्तै जैसवालले भारतले राष्ट्रिय विपद प्रतिकार्य बल (एनडिआरएफ) को टिमलाई आवश्यक सामग्रीसहित पठाउन प्रस्ताव राखेको र नेपाल सरकारको जवाफ फर्खिरहेको बताए ।