• २०८३ साउन १३ गते बुधवार

प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ । सिआईबीका अनुसार साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘साङ्गठनिक व्यवहार’ विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक गरिएको घटनामा शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको छ ।

यसअघि पक्राउ परेका व्यक्तिमाथि अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान जारी रहेकै अवस्थामा घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरिएको सिआईबीले जनाएको छ । पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुलकुमार मिश्र रहेका छन् । उनलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट पक्राउ गरिएको हो ।

यस्तै, बाराको लिपनीमाल–१ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस