• २०८३ भाद्र ७ गते आइतवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौं महानगरपालिका-३१ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौं चन्द्रागिरी नगरपालिका-३ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३० वर्षीय विवेक भुजेल रहेका छन् ।

पक्राउ मध्ये कृष्णजीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ, अनिलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ र विवेकले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णजीलाई काठमाडौं तारकेश्वर नगरपालिका-२ बाट र अनिललाई काठमाडौं महानगरपलिका-३१ बाट तथा विवेकलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस