• २०८३ कार्तिक ११ गते मङ्गलवार

शिक्षाले व्यक्ति र समाज दुवैका लागि उपयोगी नागरिक बनाउनुपर्छ : ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

कात्तिक १०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षाले व्यक्तिको जीवन सहज बनाउनुका साथै समाजका लागि उपयोगी र असल नागरिक निर्माण गर्नुपर्ने बताएका छन् । स्मृति प्रतिष्ठान नेपालले मंगलबार आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शरीर साबुनपानीले सफा गर्न सकिए पनि मन सफा गर्नु आजको ठूलो समस्या भएको बताए ।

उनले भने, ‘अस्ति मैले एउटा कार्यक्रममा बोल्दा भनेको थिएँ— कि हामीले साबुनपानीले नुहाएर शरीर सफा त हुन्छ, गर्छौँ; तर मन सफा गर्ने आजको ठूलो समस्या भएको छ।’ ओलीले शिक्षाका दुई मुख्य उद्देश्य रहेको उल्लेख गर्दै पहिलो व्यक्तिको जीवन सहज र सरल बनाउनु तथा दोस्रो समाजका लागि उपयोगी सदस्य बनाउनु रहेको बताए । ‘हामी सामाजिक प्राणी हौँ, त्यसकारण ऊ समाजको लागि उपयोगी हुन सकोस्। समाजको एउटा सदस्य त हुने नै, त्यो समाजको सदस्य समाजको एउटा असल, सुयोग्य सदस्यको रूपमा, समाजका निम्ति उपयोगी सदस्यको रूपमा हुन सकोस्। शिक्षाका यिनै दुईटा खास उद्देश्य हुन्,’ उनले भने । उनले प्राविधिक ज्ञान र शैक्षिक प्रमाणपत्र मात्रै ठूलो कुरा नभएको भन्दै व्यक्तिमा मानवता र असल व्यवहार पनि हुनुपर्नेमा जोड दिए ।

‘त्यसका लागि मान्छे सही, असल, मानवतावादी मान्छे हुन सकेन भने, त्यस्तो मान्छे हुन सकेन भने प्राविधिक ज्ञान ठूलो छ या शिक्षा धेरै आर्जन गर्‍या छ, सर्टिफिकेट ठूलो छ तर छेउमा गएर बोलिसक्नु छैन, छिमेकीलाई सहिसक्नु छैन, समाजका लागि एउटा पिलो जस्तो छ। सदस्य हो, उपयोगी होइन, पीडादायक छ,’ उनले भने । सभ्य समाज निर्माणका लागि भाषा, संस्कृति, कला र व्यक्तिको वाणी तथा उच्चारणसमेत महत्त्वपूर्ण हुने उनको भनाइ थियो । सभ्यताका विविध पक्षलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले मानिसले आफूलाई सभ्य बनाउने विषयमा पनि विचार गर्नुपर्ने बताए । ओलीले सत्य, न्याय र मानवतावादलाई विचार निर्माणको आधार बनाउनुपर्ने बताए । अष्टाङ्ग योगको यम र नियमको प्रसङ्ग उल्लेख गर्दै उनले हिंसा नगर्ने, असत्य नबोल्ने, सत्य बोल्ने, शान्तिको मार्गमा हिँड्ने र अरूको सम्पत्तिमा लोभ नगर्ने व्यवहार अपनाउनुपर्नेमा जोड दिए ।

‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ, त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट,’ उनले भने, ‘हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिँड, सबैको सुरक्षा हुन्छ। अस्तेय, अरूको सम्पत्तिमा लोभ नगर। आफ्नो हकको, जायज हकको चीजमा बाहेक अन्त कुनै लोभ नगर।’

कार्यक्रममा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठानको स्थापनाका क्रममा जग्गा प्राप्तिका लागि भएको प्रयासबारे पनि चर्चा गरे । उनले २० बिघा जग्गा उपलब्ध गराउने प्रयास भए पनि पार्टीभित्रकै असहमतिका कारण सात बिघा जग्गामा सम्झौता गर्नुपरेको बताए ।

उनका अनुसार २०५१ सालमा सरकार बनेपछि मङ्गलबारेमा रहेको ऐलानी जग्गामध्ये २० बिघा मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीलाई दिन खोजिएको थियो । सुरुमा ‘मदन भण्डारी प्रतिष्ठान उर्लाबारी’ नाम राखिएकोमा पछि प्रतिष्ठानलाई स्थानीय क्षेत्रमा मात्रै सीमित ठानिने अवस्था नहोस् भनेर ‘मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल’ नामकरण गरिएको उनले बताए ।

ओलीले प्रतिष्ठानका लागि २० बिघा जग्गा उपलब्ध गराउने प्रस्तावमा पार्टीभित्रै असहमति रहेको स्मरण गरे । ‘पार्टीभित्र मदन भण्डारी र मदन भण्डारीका विचार मन नपराउने साथीहरूको काफी सङ्ख्या थियो। करकापले उहाँहरू मदन भण्डारी भन्न बाध्य हुनुहुन्थ्यो तर मदन भण्डारी मन नपराउने, त्यो पङ्क्ति थियो,’ उनले भने ।

उनले जग्गाको विषयमा सहमति हुन नसकेपछि सात बिघा जग्गामा चित्त बुझाउनुपरेको बताए ।  ‘त्यसकारण २० बिघा कुनै हालतमा उहाँहरूले “किन चाहियो त्यत्रो जमिन?” भनेर मान्नुभएन र सात बिघा— अघि १० कट्ठा दिने भन्या थियो, १० बिघा बिना हुँदैन भनेपछि सात बिघा जमिनमा गएर हामी रोकियौँ र मैले पनि त्यसमा कम्प्रमाइज गर्नुपर्‍यो र सात बिघा जमिन हामीले त्यहाँ लियौँ,’ उनले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस