कात्तिक १०, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण तरुण युवाहरूलाई शुभकामना व्यक्त गर्दै युवाको सक्रिय सहभागिताबाट मात्रै लोकतन्त्रलाई सुदृढ र राष्ट्र निर्माणको अभियानलाई प्रभावकारी बनाउन सकिने बताएका छन् ।

स्थापना दिवसका अवसरमा शुभकामना तथा ऐक्यबद्धताको सन्देश जारी गर्दै गुरुङले नेपाल तरुण दल नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र राष्ट्रिय परिवर्तनका विभिन्न ऐतिहासिक चरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संगठन भएको उल्लेख गरे ।
उनले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध रहँदै अन्याय, विभेद तथा निरङ्कुशताविरुद्ध आवाज उठाउनु तरुण दलको गौरवपूर्ण इतिहास भएको बताए । यही इतिहास, संघर्ष र बलिदानको जगमा उभिएको संगठनले आज पनि युवाहरूको आशा, भरोसा र ऊर्जाको प्रतिनिधित्व गरिरहेको उनको भनाइ छ ।
‘आजको तरुण पुस्ता भविष्यको कर्णधार मात्र होइन, वर्तमान परिवर्तनको संवाहक पनि हो,’ गुरुङले आफ्नो सन्देशमा भनेका छन्। सुशासन, पारदर्शिता, रोजगारी, गुणस्तरीय शिक्षा, सामाजिक न्याय र अवसरको समानता सुनिश्चित गर्न युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उनले बताएका छन्।
राजनीतिलाई पद प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभइ जनताको विश्वास जित्ने, समाजलाई सकारात्मक दिशामा अघि बढाउने र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्ने अभियानका रूपमा बुझ्नुपर्ने गुरुङको धारणा छ ।
उनले राजनीतिमा विचारको स्पष्टता, व्यवहारमा इमानदारी, नेतृत्वमा उत्तरदायित्व र संगठनमा लोकतान्त्रिक संस्कार आवश्यक रहेको उल्लेख गरेका छन्।
अग्रजहरूको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको भावना, आकाङ्क्षा रक्षमतालाई नेतृत्वमा स्थापित गर्नु आजको आवश्यकता भएको उनले बताएका छन्।
गुरुङले परिवर्तन नाराले मात्र सम्भव नहुने उल्लेख गर्दै त्यसका लागि साहस, सङ्कल्प, निरन्तर सङ्घर्ष र जनताप्रतिको इमानदार प्रतिबद्धता आवश्यक पर्ने बताएका छन्। गाउँदेखि सहरसम्म, हिमालदेखि तराईसम्म तथा देशदेखि विदेशसम्म रहेका नेपाली युवालाई लोकतान्त्रिक उद्देश्यमा जोडेर समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा परिचालन गर्नुपर्ने उनको सन्देश छ।
तरुण दलसँगको आफ्नो सम्बन्ध संगठनात्मक जिम्मेवारीमा मात्र सीमित नरहेको उल्लेख गर्दै गुरुङले यसलाई आफ्नो राजनीतिक जीवन, संघर्ष, सिकाइ र आत्मीयतासँग जोडिएको गौरवपूर्ण यात्राका रूपमा व्याख्या गरेका छन्।
संगठनमा आबद्ध रहँदा साथ, सहयोग, विश्वास र प्रेरणा प्रदान गर्ने अग्रज, समकालीन तथा तरुण साथीहरूप्रति उनले आभार व्यक्त गरेका छन्। विगतमा सँगै देखिएका सपना, गरिएका संघर्ष र आत्मसात् गरिएका आदर्शलाई अझ सशक्त बनाउँदै संगठनलाई समयानुकूल, गतिशील र युवामैत्री बनाउनु सबैको साझा दायित्व भएको उनले बताए ।
तरुण दललाई युवाको आवाजको सम्मान गर्ने, उनीहरूको क्षमतालाई अवसरमा रूपान्तरण गर्ने र समाजका विभिन्न तहमा सकारात्मक परिवर्तनको नेतृत्व गर्ने संगठनका रूपमा थप सशक्त बनाउनुपर्नेमा पनि गुरुङले जोड दिएका छन्।
स्थापना दिवसले संगठनभित्र नयाँ ऊर्जा, आपसी एकता, सहकार्य र लोकतान्त्रिक प्रतिबद्धताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै गुरुङले युवाको सामथ्र्यलाई राष्ट्र निर्माणमा उपयोग गर्न आह्वान गरेका छन्।