वैशाख १४, काठमाडौं । जापान सरकारले बालबालिका र युवामा बढ्दो सामाजिक सञ्जालको लत तथा साइबर दुर्व्यवहार रोक्न सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी गरेको छ । जापानको सञ्चार मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक योजनाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर पहिलेभन्दा कडाइका साथ जाँच गर्न अनिवार्य बनाउन सकिनेछ । यसको उद्देश्य कम उमेरका बालबालिकालाई डिजिटल जोखिमबाट जोगाउनु रहेको बताइएको छ ।

सरकारले भने अन्य केही देशजस्तो उमेरका आधारमा पूर्ण प्रतिबन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार अहिलेको डिजिटल युगमा सामाजिक सञ्जाल संवाद र सम्पर्कको महत्त्वपूर्ण माध्यम भएकाले पूर्ण रूपमा बन्द गर्नु उचित नहुने ठहर गरिएको छ ।
विशेषज्ञहरूको हालैको बैठकमा यो प्रस्तावित नीति प्रस्तुत गरिएको थियो । अब बालबालिका तथा परिवारसम्बन्धी निकायले यसलाई कार्यान्वयन गर्न आवश्यक उपाय र कानुनी संशोधनबारे निर्णय गर्नेछ । यस विषयमा अन्तिम प्रतिवेदन गर्मीयामसम्म आउने अपेक्षा गरिएको छ ।
नयाँ योजनाअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना सेवासँग सम्बन्धित सम्भावित जोखिमको मूल्यांकन गरी सार्वजनिक गर्नुपर्नेछ । साथै युवा प्रयोगकर्तालाई सुरक्षित राख्न के-कस्ता कदम चालिएको छ भन्ने जानकारी पनि दिनुपर्नेछ ।
हाल एक्स र इन्स्टाग्रामजस्ता लोकप्रिय मञ्चमा खाता खोल्न न्यूनतम १३ वर्ष उमेर आवश्यक मानिन्छ । तर प्रयोगकर्ताले आफैं उमेर उल्लेख गर्ने भएकाले कम उमेरका बालबालिकाले सजिलै नियम छल्ने गरेका छन् ।
यसअघि अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने कानुन लागू गरिसकेको छ। इन्डोनेसियाले पनि यही वर्ष मार्चमा १६ वर्षमुनिका बालबालिकाका लागि यस्तै प्रतिबन्ध लागू गरेको थियो ।