माघ १३, काठमाडौं । निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमाले सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको बताइएको छ। बालेन शाह झापा–५, महेश बस्नेत भक्तपुर–२, हर्क साम्पाङ सुनसरी–१ र निकोलस भुसाल रूपन्देही–२ मा उम्मेदवार रहेका र उनीहरूलाई अभिव्यक्ति तथा निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी विषयमा स्पष्टीकरण सोधिएको जानकारी दिइएको छ।

बालेनले दिएका अभिव्यक्तिविरुद्ध आयोगमा उजुरी परेको र उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक बहसको प्रस्ताव अस्वीकृत गर्दा प्रयोग गरेको भाषा निर्वाचन आचारसंहिताविपरित भएको उजुरीमा उल्लेख भएको बताइएको छ।
एमाले सचिव महेश बस्नेतविरुद्ध पनि उजुरी परेको र उनले बालेन शाहको जनकपुर भाषणका केही शब्दलाई अनर्थपूर्ण अर्थ लगाउने गरी व्याख्या गरेको आरोप लागेको जनाइएको छ। उक्त भाषणमा ‘छौरा’ शब्द प्रयोग भएको र महेशले त्यसमा अर्थ थप्दा आलोचना भएको उल्लेख गरिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बालबालिकाको प्रयोग सम्बन्धी र स्वतन्त्र उम्मेदवार कमल भुसाल (निकोलस)लाई दुई चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको बताइएको छ। निर्वाचन आयोगले चारै उम्मेदवारलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको जानकारी दिइएको छ।