भदौ १०, काठमाडौं । भारत र श्रीलंकाबीच कोलम्बोमा जारी दोस्रो तथा अन्तिम टेस्टको चौथो दिनको खेल सकिँदा श्रीलंकाले १६ रनको अग्रता लिएको छ । यस टेस्टमा भारतले पहिलो इनिङमा ५०३ रनमा ९ विकेट गुमाएर पारी समाप्तिको घोषणा गरेको थियो । जवाफमा श्रीलंका पहिलो इनिङमा २९० रनमा समेटिएपछि भारतले २१३ रनको अग्रता लिएको थियो र श्रीलंकालाई पुनः ब्याटिङमा बोलाएको थियो ।

दोस्रो इनिङमा श्रीलंकाले चौथो दिनको खेल सकिँदा ७२.४ ओभरमा ६ विकेट गुमाएर २२९ रन बनाएको छ । यससँगै श्रीलंकाले भारतमाथि १६ रनको समग्र अग्रता बनाएको छ । श्रीलंकाका लागि सोनल दिनुषाले १०३ रन बनाउँदै पहिलो इनिङमा महत्वपूर्ण योगदान दिएका थिए । दोस्रो इनिङमा पासिन्दु सूर्यबन्दराले ९२ रन बनाए भने कामिन्दु मेन्डिसले ५५ रनको योगदान दिए। सूर्यबन्दराले पहिलो इनिङमा पनि ८० रन बनाएका थिए ।
भारतका लागि प्रसिद्ध कृष्ण, मानव सुथार र रविन्द्र जडेजाले महत्वपूर्ण विकेट लिएका छन् । चौथो दिनको अन्त्यसम्म श्रीलंकाका केशरा नुवन्था र सोनल दिनुषा क्रिजमा रहेका छन् ।
भारतले पहिलो टेस्ट जितेर दुई खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अग्रता लिएपनि श्रीलंकाले खेलको पाँचौं दिन खेलमा हारबाट बच्न संघर्ष गर्नुपर्ने देखिएको छ ।