• २०८३ भाद्र १० गते बुधवार

प्रधानमन्त्री शाहले गरे बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका सङ्घीय सांसदसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदसँग बाढीबाट भएको क्षति, नदी तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यबारे छलफल भएको हो ।

भेटमा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बाढीबाट परेको असर तथा उद्धार र राहतका लागि तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।

यसअघि प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए ।

सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा तथा राहतका लागि पूर्ण प्रतिबद्धताका साथ परिचालन भएको बताएका छन् । उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराएका छन् ।

सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस