फागुन १४,मुगु। आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा मतदाताहरु गाउँ फर्किने प्रक्रिया चलिरहेको छ । तर मुगुको एक यस्तो गाउँ जहाँ मतदाता भेटिन मुस्किल पर्ने देखिन्छ । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १ र २ का मतदाता अझै पुग्न सकेका छैनन् । निवार्चन नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा ब्यस्त देखिएका छन् । तर ती उम्मेदवार लाई विजयि गराउने मतदाता अझै पुगेका छैनन् । निर्वाचन सुरक्षाका लागि जिल्ला सरमुकाम गमगढी बजार बाट खटिएका नेपाली सेनाको टोली त्यहाँ पुगि सक्दा पनि मतदाता भने अझै पुगेका छ्रैनन । निर्वाचनको दिन नजिकिदै गर्दा मुगुको उच्च हिमाली भेगमा नेपाली सेनाले तिव्ररुपमा गस्ति बढाउदै गएको छ ।

आसन्न प्रतिनिधि सभासदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मुगु जिल्लाको भौतिक रुपमा कठिन र सडक सञ्जालको पहुँच नपुगेको मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका अन्तर्गतको मुगु गाउ, डोल्फु लगायतमा उच्च हिमाली भेगका गाउँहरुमा नेपाली सेनाको श्री हनुमानध्वज गुल्मले गस्ति बढाएको सेनानी खड्ग बहादुर श्रेष्ठले बताए । उनका अनुसार निर्वाचनको दिन नजिकिदै गर्दा हुन सक्ने सुरक्षा खतरालाई मध्यनजर गर्दे सेनाले गस्ती बढाएको हो । हाल सम्म मुगु जिल्लाको सबै मतदानस्थलमा नेपाली सेनाले गस्ती गरिसकेको छ । स्थानिय बासिन्दाहरलाई सुरक्षाको प्रत्याभुति दिलाउन उच्च हिमाली भेगमा घोडाको प्रयोग गरेर समेत गस्ति बढाएको श्रेष्ठको भनाई छ ।
विशेष गरेर मुगु र डोल्फु गाउँका बासिन्दा चिसो समयमा बेसि झरेर कोही सदरमुकाम गमगढी बजार , जुम्ला लगायत बेसि तिर झर्ने गर्छन भने कोही रोजगारिका लागि विदेशिएकाले अहिले त्यहाँका गाउहरु मतदाता भेट्नै मुस्किल पर्ने गरेको छ । मुगु जस्तो दुर्गम हिमाली जिल्लामा मौसम र भौगोलिक कठिनाइका बाबजुद सुरक्षा संयन्त्र सक्रिय रूपमा खटिँदा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । मुगुम गाउँमा करिब ३ सय घरधुरी छन् । वृद्धवृद्धा र बालबालिकालाई लिएर मतदान केन्द्रसम्म पुग्न झनै कठिन हुने उनीहरुको भनाइ छ । गमगढीबाट मतदान गर्न आउन–जान प्रतिव्यक्ति करिब तीन हजार भन्दा बढी रुपैयाँ खर्च हुने गर्छ, भने जुम्लाबाट आउ जाउ गर्न करिब १० हजाररुपैयाँभन्दा बढी खर्च लाग्ने स्थानीयको अनुमान छ । मतदान व्यवस्थापनका लागि ४ सय १७ जना कर्मचारी खटाइसकिएको जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख कमल उपाध्यायले बताए ।